Logo

दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउनै सकस



काठमाण्डौ । दशैं नेपालीको महान चाड । यो आउनासाथ नेपालीमा हर्ष र उमङ्ग आउँछ । तर महत्वपूर्ण चाडको समयमा सार्वजनिक यातायातको सेवा भने कहिल्यै सम्झनलायक हुँदैन । हरेक वर्षको चाडबाडका बेला यातायात व्यवसायीले अनेक बहानामा विभिन्न माग अघि सार्ने गर्छन् ।

यसपटक पनि त्यस्तै संकेत देखिएको छ । दशैँ नजिकिदै गर्दा काठमाण्डौ उपत्यका बाहिरिने यात्रुका लागि टिकट बुकिङ खुल्ला गर्ने विषय अन्योलमा परेको छ । भदौ २५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि त्यो अन्योलमा छ ।

सरकारले भदौ २५ गतेदेखि काठमाण्डौ उपत्यका बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रयास गरेको थियो । तर यातायात व्यवसायीले विभिन्न असन्तुष्टी जनाएपछि अझै छलफल गर्नुपर्ने भएको छ । व्यवसायीले तयारी नपुगेको र वैज्ञानिक भाडा समायोजनको विषय सम्बोधन नभएको भन्दै २५ गते बुकिङ खोल्न नमानेका हुन् ।

२०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायी असन्तुष्ट छन् । तर माग यथावत रहे पनि भाडा समायोजन नभएकै कारण अग्रिम टिकट बुकिङ खुला गर्न भने समस्या नहुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

अन्य धेरै मागहरुका विषयमा भने सरकार सकारात्मक हुनुपर्ने व्यवसायीको तर्क छ । दशैँ नजिकिदै गर्दा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न तयार भए पनि सरकारले पर्याप्त तयारी नगरेको व्यवसायीको आरोप छ ।

यता सरकारले यातायात व्यवसायीको माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । चाडपर्व अगाडि भाडा समायोजन गर्नै नसिकने सरकारको अडान छ । तर अग्रिम बुकिङ खोल्नका लागि व्यवसायीसँग जतिसक्दो चाँडो छलफल गरेर निष्कर्षमा पुगिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएका छन् ।

दशैँ तिहारका लागि हरेक वर्ष काठमाण्डौ उपत्यका बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुल्ने गर्छ । तर बुकिङ खोल्नुअघि सरकार र व्यवसायीबीच यस्तै विमति देखिन्छ । जसले गर्दा यात्रु अन्योलमा पर्ने गरेका छन् । काठमाडौ उपत्यकाबाट मात्रै २० लाख भन्दा बढी मानिस दशैका लागि घर जाने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्