Logo

चन्द्रमामा यान अवतरणको असफलतापछि मोदीले भने- भारतले प्रयास जारी राख्नेछ



भारतको चन्द्रमामा यान अवतरण प्रयास असफल भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय वैज्ञानिकहरु गर्व गर्न लायक भएको बताएका छन् । चन्द्रयान अवतरण गरिरहँदाको क्षण प्रत्यक्ष हेरेका उनले सम्पर्क टुटेपछि ट्वीटमार्फत् भारत आफ्ना वैज्ञानिकप्रति गौरवान्वित रहेको बताएका हुन् ।

मोदीले भनेका छन्, ‘भारत आफ्ना वैज्ञानिकप्रति गौरवान्वित छ ।’ उक्त क्षण बहादुरीपूर्ण रहेको र सधै रहिरहने उनको भनाई थियो । भारत सधै अन्तरीक्ष कार्यक्रममा आशावादी रहने बताए । उनले भने, ‘हामी सधै आशावादी छौं र अन्तरीक्ष कार्यक्रममा परिश्रमलाई निरन्तरता दिइरहन्छौं ।’

यसअघि चन्द्रमामा चन्द्रयान अवतरण गर्ने भारतको प्रयास अन्तत असफल भएको देखिएको थियो । अन्तिम समयमा यानले सम्पर्क गुमाएपछि प्रयास असफल भएको हो । चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा पुग्न केही मिनेटमात्र बाँकी रहँदा यानले सम्पर्क गुमाएको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोले पुष्टि गरेको छ । यान चन्द्र सतहबाट मात्र २ं.१ किलोमिटर टाढा रहँदा सम्पर्क गुमाएको हो । यसबारे डाटा लिने प्रयास भइरहेको जनाइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण भएको भए भारतले नयाँ किर्तिमान बनाउने थियो । दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्थ्यो भने चन्द्र सतहमा यान अवतरण गर्ने चौंथो मुलुक बन्थ्यो ।

भारतले लामो प्रयासपछि चन्द्रयान प्रक्षेपण गरेको हो । उसले ४५ दिनअघि चन्द्रयान २ चन्द्रमाका लागि प्रक्षेपण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्