Logo

नेपाली भाषा ज्ञान प्रतियोगिता



काठमाडौं, २१ भदौ । विज्ञहरू शब्द उच्चारण गर्थे, विद्यार्थीहरू त्यसको वर्णविन्यास अनुसारको हिज्जे उच्चारण गरिरहेका थिए । अर्को पटक फेरि शब्द सोधिन्थ्यो, विद्यार्थी त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द जे पर्छ, त्यसैको उत्तर फटाफट दिन्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे ।

जुन दृश्य नेपाली भाषा शिक्षक परिषद् कास्कीको संयोजन एवम् नेशनल प्याब्सन कास्कीद्वारा आयोजित ‘प्रथम अन्तरविद्यालयस्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता–२०७६’ को हो । पछिल्लो समय नेपाली भाषाको भाषिक सीप सिकाइमा कठिनाइ उत्पन्न भएको यथार्थतालाई दृष्टिगत गरी प्रतियोगिता आयोजना गरिएको हो ।

हाजिरीजवाफको शैलीमा विद्यार्थीलाई वर्णविन्यासदेखि शब्द हुँदै वाक्य स्तरका ज्ञानका तहमा समेटी सिङ्गो कार्यक्रमलाई विभिन्न चरणमा बाँडिएको थियो । हिज्जे, पर्यायवाची÷विपरीतार्थी, अन्ताक्षरी, पदवर्ग, कोठेपद, अनुवाद, अक्षर मिश्रित, द्रुतगति, र सङ्केत गरी कुल नौ चरणमा बाँडेर प्रतियोगिता गरिएको हो । नेपाली भाषालाई केन्द्रमा राख्दै भाषिक क्षमता अभिवृद्धिका लागि यस किसिमको प्रतियोगिता राखिएको नेशनल प्याब्सनका अध्यक्ष रामबहादुर मोचीले बताउनुभयो ।

निजी विद्यालय नेपाली भाषामा कमजोर रहेको आरोप निराधार रहेको उल्लेख गर्दै उहाँले कार्यक्रममा विद्यार्थीको सहभागिता, उनीहरूले प्राप्त गरेको प्राप्ताङ्क आदिले कुरालाई प्रस्ट पारेको बताउनुभयो । भाषालाई संस्थाअन्तर्गतका विद्यालयले स्थापनाकालदेखि नै विशेष जोड दिँदै आएका र हरेक विषयमा गुणस्तरीय शिक्षा दिनका लागि सक्रिय बनेका उहाँले बताउनुभयो ।

नेपाली भाषा शिक्षक परिषदका अध्यक्ष डोलराज अर्यालले नेपाली भाषामा आधारित रहेर यस प्रकारको बृहत् कार्यक्रम गरिनु आफैँमा महत्वपूर्ण रहेको बताउँदै यसको निरन्तरता आवश्यक भएको धारणा राख्नुभयो । कूल ३६ विद्यालय सहभागी भएको कार्यक्रममा एलपी देवकोटा मेमोरियल स्कुल प्रथम, अञ्जुली आवासीय मावि द्वितीय, सिद्धिविनायक बोर्डिङ स्कुल तृतीय र चिल्ड्रेन्स एकेडेमीले चतुर्थ स्थान प्राप्त गरेको कार्यक्रम संयोजक एवम् नेशनल प्याब्सनका सहक्रियाकलाप संयोजक एवम् संस्थाका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिनुभयो ।

भाषा विज्ञ डोलराज अर्याल, विक्रम पौडेल र डिल्लीराम अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका सचिव मनकाजी गुरुङ, द्वितीय उपाध्यक्ष केशवशरण पौडेल लगायतले नेपाली भाषाका विविध आयाममा विद्यार्थीको दक्षता, क्षमता अभिवृद्धि गर्न यस किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्