Logo

मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्र नायक घोषणा



हरारे, २१ भदौ ।  जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गर्नुभएको छ । उहाँको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताउनु भयो ।

मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेकोमा गत शुक्रबार बिहान ९५ वर्षको उमेरमा उहाँको निधन भएको थियो । राष्ट्रका नाममा सम्वोधन गर्दै राष्ट्रपति मनाङ्ग्वाले राष्ट्र नायक र राष्ट्रिय शोक घोषणा गर्नु भएको हो ।

देशको स्वतन्त्रता अगाडी वा पछाडी मुगाबेले देश र जनताका लागि ठूलो योगदान गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।
उहाँले पूर्वराष्ट्रपति मुगाबेलाई आफ्नो गुरु र सल्लाहकारको संज्ञा पनि दिनुभयो ।

जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित हुनु भएको थियो । उहाँले करीब चार दशक देशमा शासन गर्नुभएको थियो ।

केही समयदेखि बिरामी अवस्थामा रहनुभएका मुगाबेको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । सोही उपचारको क्रममा उहाँको गत शुक्रबार निधन भएको थियो । उहाँका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका थिए ।

सन् १९२४ को फेब्रुअरीमा जन्मिनु भएको मुगाबेलाई सन् २०१७ को नोभेम्बरमा सेनाले उहाँलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । उहाँलाई तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल चलान गरी मुद्दा नचलाई १० वर्षसम्म कैदी बनाएर राखिएको थियो ।

सन् १९८० मा मुगाबे देशको पहिलो निवार्चित प्रधानमन्त्री बन्नु भएको थियो । सन् १९८७ उहाँ राष्ट्रपति बन्नु भो ।
शिक्षा, स्वास्थ्य बहुसङ्ख्यक काला जातिका मानिसलाई उहाँ निकै उच्च स्थानमा पु¥याएर आफू पनि निकै लोकप्रिय हुनुभएको थियो । तर उहाँले ल्याउनु भएको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट फर्सेको उहाँमाथि आरोप लागेको थियो ।

अफ्रिकीमुलुक जिम्बाब्बेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । लामो समयसम्म शासन सत्तामा रहनु भएका स्वतन्त्रता सेनानी मुगाबे बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो । मुगाबेले जिम्बाब्बेमा ३७ वर्ष शासन भएको थियो ।

बेलायती उपनिवेश रोडेसीयाका शासक अल्पसंख्यक अश्वेतबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन सफल मुगाबे नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट हुनु भएको थियो । बहिर्गमनलगत्तै उहाँको शारीरिक अवस्था अत्यन्त नाजूक हुन थालेको थियो ।

झण्डै आठ वर्ष राजनीतिक बन्दीका रुपमा बिताउनुभएका मुगाबे त्यसपछि छापामार बन्नुभएको थियो । तर मुलुकस्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रधानमन्त्रीका रुपमा उहाँले शुरुआती दिनहरुमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गर्नुभयो । उहाँले बहुसंख्यक कालाजातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रम अगाडि बढाउनुभयो ।

तर उहाँ जसरी उच्च स्थानमा पुग्नु भएको थियो निकै तीव्र गतिमा चमक फिका हुन थाल्यो । मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन (जानु) र यसको सशस्त्र फौजको नेतृत्व सम्हाल्नु भएको थियो । सन् १९७४ मा जेलमुक्त हुँदा उहाँले उक्त युनियनको सर्वोच्च नेताका रुपमा आफूलाई उभ्याउनु भएको थियो ।

सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकी पिपुल्स युनियन (जापु) को नेतृत्व गर्नुभएका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बनाउनुभएको थियो । मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाउनुभयो । मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेला परेको भन्दै एन्कोमोलाई पदच्यूत गर्नुभएको थियो ।

मुगाबेलाई जिम्बाबेका बहुसंख्यक शोना जातिको समर्थन प्राप्त थियो । यहीबीच उत्तर कोरियालीबाट तालीमप्राप्त पाँचौं ब्रिगेडले झण्डै २० हजार विपक्षीहरुको हत्या गरेको थियो । तर सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गाजमीन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख अझ गुमेको थियो । तैपनि अफ्रिकी अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो । मगाबेले आफ्नो शासनकालमा ल्याउनुभएका केही विवादास्पद नीतिहरुका कारण विदेशी लगानीकर्ताहरु जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो ।

यसैगरी, उहाँले मानव अधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप उहाँमाथि लागेका थिए । (रासस÷सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्