Logo

त्रिविमा ‘गैरकानुनी’ प्रश्नपत्र र परीक्षाफलमाथि नै प्रश्न



रिपोर्टर्स नेपाल खोज । त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल समेत प्रकाशित गरेको एउटा विषयले त्रिविका अधिकारीहरुको गतिविधिमाथि कानुनी प्रश्न उठेको छ । स्नातकोत्तर तह प्रथम सेमेष्टरको क्वान्टम मेकान्सिकको प्रश्नमा कुल ४५ पूर्णांकमा ३५ अंक पाठ्यक्रम बाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिइएको अवस्थामा परीक्षा पुनः संचालन गरिएपछि विवाद बनेको हो ।

एकातर्फ पाठ्यक्रम बाहिर गरिसकेको अवस्थामा नियमविपरित पुनः परीक्षा संचालनमा गरिएको छ । डेढ घन्टा परीक्षा रोकेर पुनः सुचारु गर्दा प्रश्नपत्रको गोपनियता रहेको छैन । यस घटनालाई त्रिभुवन विश्वविद्यालयले लुकाउन खोजेपछि बाहिर आयो । प्रश्नपत्र पाठ्यक्रमबाहिरको प्रश्न रहेको र प्रश्नपत्र एकपटक बाहिर ल्याएर पुनः सोही प्रश्नपत्रबाट परीक्षा संचालन गर्दा कानुनी प्रश्न खडा हुन्छ ।

यसबारे विद्यार्थीले उजूरी गरेपछि राय सुझाव लिन समिति समेत गठन भयो । समितिले सबै प्रश्न कोर्स भित्रबाट सोधिएको भन्दै सुझाव पेश गर्यो । यसैका आधारमा शिक्षाध्यक्ष प्राध्यापक डा. सुधा त्रिपाठीले परीक्षा कायमै राख्न र परीक्षाफल प्रकाशित गर्न लेखिन् । तर, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयबाट त्रुटी भेटिएर कानुनी जटिलता आउने देखेर उनले भदौ ४ गते पुरानो निर्देशन फिर्ता लिई नयाँ निर्देशन दिइएको पत्र पठाइन् । नयाँ निर्देशनमा विगतको निष्कर्षहरु कार्यान्वयनका लागि दिइएको निर्देशनलाई फिर्ता लिइएको भनिएको छ । विगतमा छानविन समिति गठन गरी आवश्यक कामकारबाही गर्नु भनिएको थियो । यसैका आधारमा समिति बनाई प्रश्नपत्र र परीक्षालाई सही ठहर्याएर परीक्षाफल प्रकाशित गरियो ।

त्रिपाठीको पुरानो निर्देशन फिर्ता लिने निर्णयले परीक्षाफल प्रकाशित भइसकेको विषय विवादमा परेको छ । अब उनको पुरानो निर्देशन फिर्तालाई लिएर कानुनी उपचारमा जाँदा परीक्षा र परीक्षाफल दुवै रद्द हुनसक्छ । जसका कारण सयौं विद्यार्थीको भविष्यमाथि खेलवाड हुनसक्छ । परीक्षा लिंदा र प्रश्नपत्र बनाउँदा नै विवादास्पद काम गरेपछि डनको कार्यालय देखि त्रिभुवन विश्वविद्यालय समेत विवादमा तानिएको छ ।

२९ पौष २०७५ मा स्नातकोत्तर तह प्रथम सेमेष्टरको क्वान्टम मेकानिकको पुरानो पाठ्यक्रमको परीक्षा लिइएको थियो । परीक्षाफल १२ वैशाख २०७६ मा प्रकाशित गरिसकिएको छ । यस अवस्थामा त्रिविले त्रुटी ढाकछोप गर्न खोज्दा कानुनी जटिलता थपिएको हो । शिक्षाध्यक्ष त्रिपाठी, हाल कार्यवाहक उपकुलपति ले समेत विगतको गल्तीले कानुनी जटिलता आउनसक्ने भन्दै निर्णय फिर्ता लिएको भनेबाट परीक्षा र परीक्षाफल नै विवादमा तानिएको हो ।



प्रतिक्रिया दिनुहोस्