Logo

काँग्रेसको भावी नेतृत्वमा ‘धर्म’को एजेन्डा निर्णायक



समाचार विश्लेषण । नेपाली काँग्रेसभित्र ‘हिन्दु राष्ट्र’ को एजेन्डा रोक्न नेतृत्वलाई कठिन हुने अवस्था बनेको छ । केन्द्रीय समिति सदस्यहरु क्रमशः एजेन्डामा खुल्दै गएका छन् भने महासमिति र महाधिवेशन प्रतिनिधिहरुको बहुसंख्या हिन्दु राष्ट्रको पक्षमा उभिएका छन् । यसबाट अर्को वर्षभित्र भइसक्ने महाधिवेशनमा नेतृत्व हात पार्ने नेता व्यक्तित्वका कारण भन्दा पनि एजेन्डा विशेषका कारण हुने सम्भावना बढेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै हिन्दु राष्ट्रका पक्षमा छैनन् । देउवा मौन छन् भने पौडेल नबोले पनि विपक्षमा छन् । उपसभापति विमलेन्द्र निधि खुलेरै हिन्दु राष्ट्रको विपक्षमा आएका छन् । यही कारण गत शनिबार भक्तपुरमा उनको विरोधमा काँग्रेस कार्यकर्ताले नारावाजी गरे । स्थिति नियन्त्रणमा लिन प्रहरी नै मञ्चमा पुगेका थिए ।

काँग्रेसमा फर्केका उपसभापति विजयकुमार गच्छेदार मौन छन् । तर, उनी पछिल्लो समय हिन्दुवादीसँग नजिकिएका छन् । साउनमा उनले भारतका धर्मगुरु र भारतीय जनता पार्टीका नेताहरुसँग महत्वपूर्ण भेटघाट गरे । राजनीतिमा जुनसुकै बेला यु टर्न हुनसक्ने गच्छेदार पनि हिन्दु राष्ट्रको एजेन्डातर्फ विस्तारै जोडिदै गएका छन् । महामन्त्री पूर्णबहादुर खड्का मौन छन् ।

काँग्रेसभित्र हिन्दु राष्ट्रको एजेन्डाको नेतृत्व महामन्त्री डा.सशांक कोइरालाले गर्ने संकेतहरु देखिदै आएको छ । उनले बारम्बार यसबारे बोल्दै आएका छन् । एजेन्डालाई स्थापित गर्न भने केन्द्रीय सदस्य शंकर भण्डारीलगायत सक्रिय छन् । केन्द्रीय सदस्य डा.शेखर कोइराला काँग्रेसको झण्डाको एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक रहेको भन्दै बीचको बाटोमा जानुपर्ने पक्षमा छन् । उनी धर्मनीरपेक्ष संविधानबाट हटाएर धार्मिक स्वतन्त्रता राखेर जानेगरी एजेन्डा बनाइरहेका छन् । कोइराला परिवारकी सदस्य सुजाता कोइराला भने हिन्दु राष्ट्रको विपक्षमा छिन् । उनी धर्मनीरपेक्षकै पक्षमा छिन् ।

काँग्रेसको आगामी महाधिवेशनमा राजनीतिक एजेन्डाको पनि जित हार हुने सम्भावना बढेको छ । विगतमा काँग्रेसले लिने राजनीतिक एजेन्डा फितलो बन्दै आएको थियो । काँग्रेसले वीपी कोइरालाको पालादेखि लिंदै आएको एजेन्डाहरुमध्ये सबैभन्दा कमजोर एजेन्डाका रुपमा अहिलेको एजेन्डालाई लिइएको छ । उसले कम्युनिष्ट पार्टीको एजेन्डा लिएको आरोप समेत लाग्ने गरेको छ । वीपीको आदर्श र एजेन्डा बिर्सेको विषय उठ्ने गरेको छ । अब काँग्रेस बलियो हुनका लागि देश र जनताले चाहेको बलियो एजेन्डाबाहेक विकल्प छै भन्ने तर्कहरु उठिरहेको छ । अर्काले बिगार्ला र पाउँला भनेर बसे काँग्रेस झन् धकेलिदै जाने अवस्थातर्फ सचेत गराइएको छ ।

अब काँग्रेसभित्र फैलिएको हिन्दु राष्ट्रको एजेन्डा रोक्न सजिलो छैन । यसको व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण छ । काँग्रेसको आगामी नेतृत्वको संघर्ष एजेन्डाको बीचमा हुनसक्छ । यो एजेन्डा लिएर डा. सशांक कोइराला र डा. शेखर कोइरालालाई बाह्य र आन्तरिक राजनीतिको व्यवस्थापन उत्तिकै चुनौती छ । एजेन्डा उठाउन कठिन छ तर उठाउन सके नेतृत्व कोइराला परिवारको हातमा पुग्न सक्छ । नेतृत्व फुत्कने अवस्थामा सभापति देउवाले पनि यही एजेन्डाको सम्बोधनको बाटो रोज्न सक्छन् । उनले त्यसका लागि भित्री तयारी गरिसकेका छन् । उनीनिकटस्थको पछिल्लो समय फेरिएको बोलीको संकेत यही हो । सहमहामन्त्री डा. प्रकाशशरण महत हिन्दु राष्ट्रको एजेन्डामा नरम बोली बोलिरहेका छन् । देउवा निकटहरु यसबारे मौन छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि यो एजेन्डा सकारात्मक नहुन सक्छ । तर, नेतृत्व पाउने अवस्थामा उनले पनि यसलाई विकल्पका रुपमा एजेन्डाका रुपमा सार्न सक्छन् । प्रभावशाली नेता कृष्णप्रसाद सिटौला धर्मलाई राजनीतिबाट अलग राख्नुपर्ने पक्षका हुन् । गणतन्त्र र धर्मनीरपेक्षता स्थापित गर्न उनको महत्वपूर्ण भूमिका भएकाले उनले धर्मको एजेन्डा उठाउने सम्भावना सायदै होला । तर, धर्मबारे कुनै न कुनै व्यवस्थापनका पक्षमा नगई नहुने यथार्थबारे सिटौला जानकार होलान् । यस अर्थमा काँग्रेसभित्रको राजनीतिमा धर्म मुख्य एजेन्डा बनेर आइरहेको छ । यही एजेन्डाले काँग्रेसको भावी नेतृत्वको निक्र्यौल गर्ने सभ्भावना बलियो हुँदै गएको छ ।

विस्तारै तात्तिदै गएको काँग्रेसभित्रको राजनीतिक माहोलले उसलाई आगामी चुनावसम्म धर्मबारे कुनै न कुनै निर्णय लिन वाध्यकारी अवस्थामा पुर्याउन सक्छ । त्यसका लागि आन्तरिक रणनीति बनाउन नेतृत्वका प्रतिष्पर्धीहरु सक्रिय भइसकेका छन् । कार्यकर्ता तहबाट तात्तिनु भनेको जगबाट एजेन्डा स्थापित हुँदै जानु हो । राजनीति र धर्मलाई अलग राख्नुपर्छ भन्नेमा काँग्रेस नेतृत्वमा रहेकाहरु स्पष्ट छन् । तर, धर्मको विषय व्यवस्थापनको चुनौतीले धर्मलाई राजनीतिमा ल्याइसकेको छ ।

शतहमा जे देखिएपनि र धर्मनीरपेक्षता अँगालेपनि धर्मले युरोप, अमेरिका र चीनमात्र नभई भारतको राजनीतिलाई समेत प्रभावित पार्छ । सिधै राजनीतिमा धर्म आएको नदेखिएको हो । अमेरिकामा इशाईबाहेकबाट राष्ट्रपति बन्न मुश्किल छ । चर्चका पादरीहरुको आशिर्वादविना यूरोपका कतिपय देशमा नेता बन्न असम्भव छ । चीनमा कतिपय प्रान्तमा बुद्ध धर्मगुरुहरु हावी छन् । भारतमा हिन्दुवादी नेताहरुको प्रभाव लुकेको छैन । मुसलमान राष्ट्रहरुमा धर्मगुरुकै बोलवाला छ । नेपालमा यो हदसम्म राजनीतिमा धर्मको प्रभाव त छैन तर धर्म संस्कृतिको एजेन्डा मुख्य बन्दै गएको छ । त्यसमाथि परम्परागत शक्ति काँग्रेसमा धार्मिक संघसंस्थाको प्रभाव अपत्यारिलो तरिकाले बढ्दैछ । घटनाक्रम यसरी विकसित हुँदै छ कि काँग्रेसको आगामी नेतृत्व धर्मको पक्ष विपक्षको एजेन्डाले नै तय गर्ने वातावरण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्