Logo

नेपाल–चीन सम्बन्धमा उच्चस्तरीय भ्रमण, नेपाल सधैँ तल



काठमाण्डौ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा छन् । उनको नेपाल भ्रमणलाई लामो समयदेखि चिनियाँ राष्ट्र प्रमुखबाट हुन नसकेको भ्रमणको अवस्थालाई तोडी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका रुपमा बुझिएको छ । नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतमा दुवै देशबीच उच्च तहमा भ्रमणहरू भए पनि चीनबाट भने निक्कै कम उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने गरेका छन् ।

नेपालले छिमेकी मुलुक चिनलाई जति महत्व दिन्छ, त्योभन्दा निकै कम महत्व चिनले नेपाललाई दिने गरेको छ । चिनियाँ पक्षले नेपाली पक्षलाई बोलाउनासाथ भ्रमणमा जाने चलन छ ।

तर नेपालले दिएको निमन्त्रणलाई चिनियाँ पक्षले निकै कम महन्त्व दिएको इतिहासले बताउँछ । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप–प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन् ।

पछिल्ला वर्षहरूमा चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने खबरहरू बारम्बार सार्वजनिक हुने गरे पनि सन् २०१२ मा भएको चीनियाँ प्रधानमन्त्रीको संक्षिप्त नेपाल भ्रणमपश्चात् त्यो तहमा भ्रमणहरू हुन सकेका छैनन् ।

राष्ट्रपति तहमा भने पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रणम गरेका थिए । नेपालबाट भने चीनमा हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी चीन भ्रमण गइसकेका छन् ।

उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ ।

सन् १९५६ मेमा तत्कालिन राजा महेन्द्रको राज्याभिषेकमा चीनबाट त्यसबेलाका उप–प्रधानमन्त्री नेपाल आएका थिए । उक्त भ्रणमले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा नयाँ युग सुरु गरेको कुटनितीज्ञहरु तर्क गर्छन् ।

त्यसै वर्षको सेप्टेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको भ्रणम गरेका थिए । चीन भ्रणम गर्ने पहिलो नेपाली प्रधानमन्त्री उनी नै थिए । तत्कालिन राजा विरेन्द्रको राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रणम भएको थियो ।

नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेका थिए । त्यसलगत्तै सन् १९६० को एप्रिल २६ देखि २९ सम्म चाउ एनलाईले दोस्रो पटक नेपाल भ्रमण गरे ।

इतिहास सुखद भए पनि समयान्तरसँग नेपालबाट चीन जाने ताँती थपिँदै छ तर नेपालले उच्चस्तरको स्वागत गर्ने ल्याकत भने गुमाउँदै गएको छ । यही मेसोमा चिनियाँ राष्ट्रपति सि जिङ पिङ केही समयका लागि भए पनि नेपाल आउने सूचनाहरु सार्वजनिक भएका छन् । सम्भावित भ्रमणमा कूटनीतिक कौशल देखाएर नेपालले आफ्नो गुम्दैगएको साख उठाउन ध्यान दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्