Logo

आजदेखि कांग्रेसको जागरण अभियान भाग–२(भिडियोसहित)



काठमाण्डौ, भदौ २४ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट सुरु गर्दैछ । जसको लागि कांग्रेस ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि खटाइसकेको छ । यो दोस्रो चरणको अभियानबाट मुख्य रुपमा पार्टीको सांगठनिक सुधार र सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने लक्ष्य लिएको छ ।

नेपाली कांग्रेसका संस्थगापक नेता विपी कोइरालाको १०६औँ जन्मजयन्तीका दिनको अवसर पारेर मंगलबारदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेको हो । अभियान आगामी असोज ७ गते समापन हुने छ ।

अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् । यसक्रममा कांग्रेसले सरकारका गलत कामकारवाहीको भण्डाफोर गर्ने जनाएको छ ।

सरकारले ल्याएका विधेयकहरु लोकतन्त्र र संविधान विरोधी भएको भन्दै जनतामा चेतना जागृत गराउने उद्देश्य कांग्रेसले लिएको छ । सरकार जनविरोधी एजेण्डामा नसच्चिए सडक र सदन दुवै ठाउंबाट सशक्त संर्घषमा उत्रने कांग्रेसको चेतावनी छ । सके त कांग्रेसले सरकार नै ढाल्थ्यो होला । तर संसदमा त्यस्तो शक्ति छैन । तै पनि कांग्रेस नेताहरु सरकारलाई चेतावनी दिन भने छोड्दैनन् ।
(भिडियो हेर्नुस्)

जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान गर्ने कांग्रेसको तयारी छ । जसको लागि देशको सवै जिल्लाको निर्वाचन क्षेत्रमा केन्द्रिय प्रतिनिधि समेत खटाइसकेको छ । पहिलो चरणको तुलनामा दोस्रो चरणको अभियानका औपचारिक कार्यक्रम पनि छरितो हुने र वक्ता सीमित गर्ने कांग्रेसको तयारी छ ।

जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निकायको चुनावमा अनपेक्षित रुपमा खुम्चिएको कांग्रेसले आगामी चुनावमा बलियो बनेर देखा पर्ने लक्ष्य लिएको छ ।

तर पार्टीभित्रको अन्तरिक किचलो साम्य नहुँदा सरकारविरुद्धको कदम होस वा जागरण अभियान । प्रभावकारी बन्न सकेको छैन । अर्कोतिर महाधिवेशनको चटारो छँदैछ । नेपालको हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेस पुर्ववत् अवस्थाको जस्तै शक्तिशाली बन्नका लागि अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्