Logo

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज, मोदीले स्वीच थिचेपछि अन हुने ओलीले थिचेपछि तेल झर्ने



काठमाडौं २४ भदौ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा म‌ंगलबार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका छन् । दिउसो १२ बजेर १५ मिनेटमा उद्घाटन कार्यक्रम तय गरिएको छ । दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप अन हुन्छ । त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेपछि यता अमलेखगञ्जमा तेल झारिन्छ ।

तेल पहिल्यै पाइपमा भरेर राखिएको हुनाले स्वीच थिच्नासाथ तेल खस्न थाल्नेछ । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले आयल निगमका प्रमुखलाई हस्तान्तरण गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदीले सोमबार साँझ ट्वीट गर्दै दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्न लागिएको बताएका छन्। पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सिङ मार्फत गर्दैछन्।

मोदीको ट्वीटमा मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले ढुवानी खर्च कम गर्नुका साथै उर्जा सुरक्षा अझ भरपर्दो हुने उल्लेख छ।

२०७४ सालको फागुन २५ गतेदेखि अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा पाइप लाइन जडानको काम सुरु भएको थियो। ६९ किलोमिटर लामो उक्त पाइपलाइनलाई रणनीतिक महत्वको परियोजनाका रुपमा लिइएको छ। पाइपलाइन सुरु भएसँगै वीरगन्ज भन्सार नाकामा हुने लामो जाम र भीडभाडसमेत अन्त्य हुने र वीरगन्ज –पथलैया–अमलेखगन्ज सडकखण्डमा ट्यांकरको चापसमेत घट्ने विश्वास लिइएको छ।



प्रतिक्रिया दिनुहोस्