Logo

४६० अरबको सम्पत्ति त्यागेर अलिबाबाका मालिक ज्याक मा लोकोपकारमा



४६० अरब डलर सम्पत्ति भएको कम्पनि कसैले त्याग्ला ? शक्ति, शान र मान कसैले त्याग्ला ? त्यो पनि ५५ वर्षको उमेरमा । तर, आजबाट विश्वका २१ औं धनी चिनियाँ व्यापारी ज्याक माले अलीबाबा कम्पनि त्यागेका छन् । उनी अप्ठ्यारोमा परेर या कसैको दबाबमा त्यागेका होइनन् । लोकोपकारका लागि बाँकी जीवन समर्पित गर्न नयाँ मार्ग कोरेका छन् ।

अलीबाबाको कार्यकारी प्रमुख हुन् ज्याक मा । यसलाई फलाउने फुलाउने सबै काम उनैले गरे । विश्वकै धनी कम्पनिमध्येमा पुर्याए । चीनको सबैभन्दा धनी व्यक्तिमा नाम लेखाए । मालिकले भएको अलिबाबा कम्पनि विश्वकै धनी कम्पनि मध्येको हो । विश्वभर ब्रान्ड बनेको  कम्पनिको कार्यकारी प्रमुख रहेका उनले आजबाट व्यवसायबाट सन्यास लिए । १० सेप्टेम्बर शिक्षक दिवस रहेकाले उनले सन्यास लिने दिन चुने । उनी असल शिक्षक बन्ने धोको राख्दैछन् ।

५५ वर्ष पुगेका उनी लोकोपकारी कार्यमा समर्पित हुनेछन् । उनलाई पैसा र शक्तिभन्दा जीवनमा आनन्ददायक कार्य गर्नुछ । पैसा, शान र सौकतभन्दा टाढा रहेर निस्वार्थ लोकपकारमा समर्पित हुन लागेका ज्याक माको सन्यास घोषणा भने भव्य भएको छ । कम्पनिको गृहशहर हाङजुस्थित भव्य स्टेडयममा आयोजित समारोहबीच उनले सन्यास लिएका हुन् ।

दुई दशकमा अलिबाबा कम्पनिको सम्पत्ति ४६० अरब डलर बनाउन सफल माले अब समहिला अधिकार, वातावरण, शिक्षा र विकासमा आफूलाई समर्पित गर्नेछन् । उनले सन् २०१४ मा ज्याक मा फाउण्डेशन शुरु गरिसकेका छन् । यसैमा उनको सक्रियता रहनेछ ।

७० वर्ष नपुग्दै आफूलाई मनपर्ने क्षेत्रमा केही गरिहाल्ने इच्छा राखेका थिए ज्याकले । उनको इच्छा शिक्षा क्षेत्रमा केही गर्ने हो । उनी बेला बेलामा विद्यार्थीलाई प्रोत्साहन गर्ने कक्षा लिन्थे । आध्यात्मिक चिन्तन गर्ने ज्याकसँग बोल्ने खुबी छ । उनी महिला अधिकारका बारे चिन्तन राख्छन् । अलिबाबाको वरिष्ठ व्यवस्थापकीय अधिकृतमा आधा महिला छन् । व्यवसायमा सफलताका लागि महिलालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएका थिए । अब उनले महिला सशक्तिकरणमा विशेष भूमिका खेल्नेछन् ।

चिनिँया कम्युनिष्ट पार्टीको सदस्य समेत रहेका ज्याक चीनको सबैभन्दा धनी व्यक्ति हुन् । धनी भएपनि उनी निकै सामान्य छन् । उनको जीवनशैली सरल छ । जे गर्नुछ समयमै गर्नुपर्ने उनको सुझाव रहनेगर्छ । समय गुज्रिइसक्दा निर्णय लिने र हतारमा निर्णय लिने दुवै असफल बनाउने विषय रहेको बताउने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्