Logo

ओलीले सिंहदरबार र मोदीले दिल्लीबाटै पेट्रोलियम पाइपलाईनको उद्घाटन गर्ने



वीरगञ्ज । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि आज नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिची सो पाइपलाईनको दिउँसो १२ बजेर १५ मिनेटमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाई रहको छ ।

उद्घाटन पश्चात तत्काल बरौनी डिपोबाट डिजेल आउने छ। विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौता अनुसार सो पाइपलाइन निर्माण भएको हो। विसं २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेको पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ।

शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको बताइएको छ। पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको संयुक्तलागत करीब ७५ करोड रुपैयाँ लगानी रहेको छ। सोमा भारत सरकारको चार अर्ब ४० करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण भएको पाइपलाइनको कूल लम्वाई ७० किलोमिटर रहेको र पाइपलाइन भारततर्फ ३२।५ किलोमिटर तथा नेपालतर्फ ३७।५ किलोमिटर लम्वाई रहेको छ।

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउने छ। नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ। पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक दुई अर्ब रुपैयाँ बचत हुने आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्