Logo

आइजीपी खनालले २० वर्षदेखि पूरा नभएको सपना यसरी साकार पारे



काठमाडौं, भदौ २४ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा ठूलो सफलता हासिल गरेका छन् । त्यो हो- अपराध अनुसन्धान, महानगरीय प्रहरी परिसर काठमाडौंको भवन निर्माणको शुरुवात र अत्याधुनिक पुलिस क्लब निर्माण । २० वर्षदेखि चर्चामा रहेको भवन निर्माण सपना मात्र बनेको थियो । प्रहरी नेतृत्वमा धेरै आए गए तर कसैले त्यो सपना पूरा गर्न सकेनन् । अन्ततः खनालको कार्यकालमा त्यसले सार्थकर्ता पाउने जग हालेको छ ।

कुनैबेला हनुमानढोका दरबार क्षेत्रको पश्चिमतर्फ रहेको अपराध अनुसन्धान र काठमाडौं प्रहरीको भवनमा खनाल स्वयंको दरबन्दी थियो । मान्छे हिंड्दा पनि हल्लने अवस्थाको भवन हुँदा पनि कार्यालय सर्ने र नयाँ बन्ने हल्लामात्र चल्यो । तर, कार्यान्वयन भएन । यसरी नै डेढ दशक बितिसकेको थियो । २०७२ सालको भूकम्पले भवन भत्कायो । समयमै ध्यान नदिंदा प्रहरीको महत्वपूर्ण कार्यालय सार्ने ठाउँ समेत भएन । धन्न नेशनल ट्रेडिङको टेकुस्थित जग्गा र भवन भेट्टियो । तर, त्यहाँ बैंक्विट चलाइएको थियो । प्रहरी पाल हालेर त्यही बस्यो । त्यसपछि पनि भवन निर्माणको कुरामात्र चल्यो । न जग्गा मिल्यो न रकम । अन्तमा आइजीपी खनालको प्रत्यक्ष पहलमा जग्गा र भवन निर्माणको रकम दुवै व्यवस्थापन भयो ।

दुई दशकयता चल्दै आएको भवन निर्माणले पाउन नसकेको सार्थकता आइजीपी खनालको कार्यकालमा शुरु भएपछि उनका लागि कार्यकालको ठूलो उपलब्धि भएको छ । उनले भवन निर्माणहरुको शुभारम्भ समेत गरेका छन् ।

सरकारले रकम निकासा गरेको र जग्गाको व्यवस्थापन पनि गरेकाले भवन निर्माण शुरु हुन लागेको हो । त्यसका लागि आइजीपी स्वयं सक्रिय भएका थिए । अपराध अनुसन्धानको भवन नेपाल आयल निगमको टेकुस्थित जग्गामा बन्न शुरु भएको छ । त्यहाँ सरकारले दश रोपनी जग्गा उपलब्ध गराएको छ । यसअघि निगमले नेशनल ट्रेडिङसँग जग्गा लिएको हो । उक्त जग्गामा अपराध अनुसन्धानको भवन निर्माणका लागि ६७ करोड निकासा भएको छ ।

काठमाडौं परिसरको भवन नेपाल खाद्य संस्थानको भद्रकालीस्थित जग्गामा बन्ने भएको छ । त्यहाँ उसले १५ रोपनी जग्गा पाएको छ । परिसर भवनका लागि एक अरब २० करोड निकासा भएको छ । जग्गा र रकम दुवै निकासा भएपछि भवन निर्माण समेत शुरु भएको छ ।
नेपाल पुलिस क्लबको संरचना पनि नयाँ बन्ने भएको छ । यसको पनि शुभारम्भ भइसकेको छ ३० करोड लागतमा बन्ने भवनका लागि यस वर्ष १२ करोड निकासा भएको छ । दुई वर्षभित्र बन्ने नयाँ संरचनामा अत्याधुनिक हुनेछ । पुराना संरचनाहरु भत्काएर सुविधासम्पन्न बनाइनेछ । तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्