Logo

समाजवादको सिद्वान्त विर्सिदै कांग्रेस



काठमाण्डौ । विपी कोइराला भन्नासाथ समाजवादको सम्झना आइहाल्छ । नआओस् पनि किन, उनै विपीले नेपालमा समाजवादको परिकल्पना गर्नुभएको थियो । संस्थापक नेता कोइरालाकै सिद्धान्त बोकेर नेपाली कांग्रेसले राजनीति गरिरहेको छ । कांग्रेसलाई अहिले विपीको सिद्धान्त भुलेको आरोप पनि लाग्ने गरेको छ ।

पार्टीका मूल विचारक, व्याख्याता, कुशल संगठन र उत्प्रेरक व्यक्तित्वका धनी थिए विपी कोइराला । २००७ सालको जनक्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसले दुईतिहाई बहुमत प्राप्त गरेपछि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बने ।

प्रधानमन्त्री रहँदा आफ्नो आधार दरबार नभई जनता भएको बताउँदै सत्ता र शक्ति केन्द्रलाई खुसी पार्न नलागी संघर्ष र क्रान्तिमा लागेका थिए । कोइरालाले कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद जस्ता मूल नीतिमा डो¥याउँदै नेपालको भूराजनीतिक अवस्था, भौगोलिक संरचना, जनसंख्या, इतिहास, धर्म, संस्कृति, वैदेशिक सम्बन्ध, अर्थतन्त्र आदिलाई विभिन्न कोणबाट गहन अध्ययन र विश्लेषण गर्दै त्यही अनुरुपको नीति निर्माण र कार्यान्वयनमा समेत जोड दिएका थिए ।

विपिका यिनै विचार र सिद्धान्तलाई कांग्रेसले राजनीति गर्ने आधारको रुपमा प्रयोग गरेको छ । तर व्यवहारिक रुपमा भने नेतृत्वले विपीको विचारलाई लत्याइएको कांग्रेसकै नेताहरु आरोप लगाउँछन् ।

विपीको विचारलाई महत्व नदिएकै कारण कांग्रेस कमजोर बन्दै गएको नेता विनयध्वज चन्दको तर्क छ । चन्दले मात्रै होइन, दोस्रो वा सोभन्दा तल्लो तहकाभ नेता कार्यकताहरु नेतृत्वले विपीको विचार अनुसरण नगरेकोमा रुष्ट छन् ।

जबसम्म पेट भर्न नपाई भोकभोकै रहनुपर्ने श्रमजीवी मानिसहरू राज्यको नीति निर्माण गर्ने र शासन सत्ता चलाउने ठाउँमा पुग्दैनन, तबसम्म उनीहरू कुनै न कुनै रूपमा शोषित पीडित भइरहन्छन् भन्ने विपीको मान्यता थियो ।

तर अहिलेको नेतृत्वले जनताको पक्षमा न खुलेर बोल्न नै सकेको छ, न मन जित्न नै । विपीले ६ दशकअघि प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादी आर्थिक नीतिको सान्दर्भिक अहिले पनि उत्तिकै छ । विपीको विचारलाई कांग्रेसले मात्रै होइन, कम्युनिष्टहरुले पनि नराम्रो भन्न सक्दैनन् । तर जनहितमा काम गर्न भने कसैले पनि सकेको छैन । त्यसैले सिद्धान्त र विचार स्वीकार गरेर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा पनि उतार्न सक्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्