Logo

चीनसँगको सम्झौता कार्यान्वयनमा उदासिन



काठमाण्डौ । विकाशोन्मुख मुलुक नेपालको विकासमा वैदेशिक सहयोग अपरिहार्य छ । अधिकांश आयोजना कुनै न कुनै देशको सहयोगमा बन्ने गरेका छन् । छिमेकी मुलुक चिनले पनि नेपालका धेरै आयोजनाहरुमा हात हालेको छ ।

तर अधिकांश आयोजनाको प्रगति सन्तोषजनक छैन । नेपालीको सुस्त कार्यशैली, समन्वयको अभावसमेतले चिनियाँ सहयोगका आयोजनाको काममा ढिलाइ हुने गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंको तीन दिने भ्रमणपछि स्वदेश फर्किनुभएको छ । वाङको भ्रमण कुटनीतिक रुपमा कति सफल भयो, त्यो भविष्यले बताउला । अर्थतन्त्रको क्षेत्र कति फलदायी भयो त्यो पनि पर्खाइकै विषय हुन सक्छ ।

तर छिमेकी देश चीनसँग विगतमा भएका सम्झौता र नेपाललाई गर्ने भनिएको सहयोगका प्रतिवद्धता भने अधिकांश पूरा नभएको पाइन्छ । उच्चस्तरको भ्रमणमा सबैजसो विषयमा छलफल हुन्छ ।

यो गर्ने त्यो गर्ने भनेर सहमति पनि हुन्छ । भ्रमण सकिएसँगै प्रतिवद्धता र लक्ष्य पनि भुल्ने गरेको पाइन्छ । नेपालको भूमिका अलि बढि प्रभावकारी हुने हो भने नेपालमा चिनियाँ लगानी भित्र्याउन खासै गाह्रो नभएको चिनका लागि पूर्व राजदूत डा. महेश मास्के बताउँछन् ।

नेपाल र चीनबीच यातायात तथा पारवहन प्रोटोकलसहित गत वैशाखमा भएका अन्य सम्झौताको अवस्था बुझ्नेदेखि बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत भएका परियोजनाको अध्ययनसमेत भइसकेको छैन । बीआरआईअन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी नौ परियोजनामा चिनियाँ लगानी आउने भनिए पनि काम अघि बढेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको भ्रमणमा भएका सहमति र सम्झौतामात्र होइन, त्यसअघिका कतिपय सम्झौता पनि अलपत्र परेका छन् । नेपालबाट चिनले नभै चिनबाट नेपालले फाइदा लिनुपर्ने भएकाले नेपाली पक्ष नै कार्यान्वयनको पाटोमा गम्भीरतापूर्वक लाग्नुपर्ने अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाई छ ।

चिनबाट नेपालमा रेल ल्याउने समझदारीअन्तर्गत प्रारम्भिक सम्भाव्यता अध्ययन अघि बढेको छ । तर त्यसको लगानी र सहयोग मोडालिटी खुल्न सकेको छैन । नेपाल र चीनबीच कूट्नीतिक सम्बन्ध कायम भएपछि दुई देशबीच आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक र शैक्षिकलगायतका क्षेत्रमा प्रगति हुँदै नभएको होइन ।

विश्वमै अर्थतन्त्रका हिसाबले शक्तिशाली राष्ट्रको रुपमा स्थापित चिनबाट नेपालले जति फाइदा लिनुपर्ने हो त्यति लिन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्