Logo

यस्तो बन्दैछ अपराध महाशाखा र काठमाडौं प्रहरीको भव्य भवन (डिजाइनसहित)



काठमाडौं, भदौ २५ । नेपाल प्रहरीले निकै कसरतपछि अपराध महााशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको भवनका लागि जग्गा पायो । उसले जग्गा पाएसँगै सरकारबाट भवन निर्माणका लागि दुई अरबभन्दा बढी रकम समेत पायो ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष पहलमा जग्गा पाएपछि त्यसमा भव्य भवन बन्ने भएको छ । त्यसको डिजाइन पनि पूरा भई निर्माण हिजोबाट शुरु भएको छ । आइजीपी खनालले दुईवटा भवन र भृकुटीमण्डपस्थित पुलिस क्लबको अत्याधुनिक पूर्वाधारको शुभारम्भ गरिसकेका छन् ।

सरकारबाट प्राप्त ९ रोपनी जग्गामा निर्माण हुने महानगरीय अपराध महाशाखाको भौतिक संरचनाले ७५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । नेपाल सरकारबाट प्राप्त १५ रोपनी जग्गामा निर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौंको भौतिक संरचनाले १ लाख ६५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ ।

२६ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको नेपाल पुलिस क्लवको नवनिर्माण हुने भौतिक संरचनाले ६० हजार वर्गफिट क्षेत्रफल ओगटने छ । तीन वटै संरचना २ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।

नवनिर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको भवन आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश र बाथरुम आदिको व्यवस्थापन गरिने छ । सेवाग्राहीले सहजताका साथ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक संख्यामा कार्यालय कक्ष, प्रतिक्षालय, चमेनागृह र खुल्ला स्थानको उत्तम एवं सुरक्षित प्रबन्ध गरिने छ । दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै वेसमेन्ट पार्किङको समेत व्यवस्था गरिनेछ ।

साथै नवनिर्माण हुने नेपाल पुलिस क्लवको बहुउद्देश्यीय भवनमा अत्याधुनिक सुविधा सहितको मुख्य हल र अन्य २ वटा कन्फ्रेन्स हल तथा वेसमेन्ट पार्किङको व्यवस्था गरिनेछ । भवन अत्याधुनिक प्रविधि अनुरुप डिजाइन गरिएको छ । तस्बिर स्रोतः नेपाल प्रहरी



प्रतिक्रिया दिनुहोस्