Logo

फाराम भरेको दुई वर्ष बित्दासमेत धारा पाइएन



तुलसीपुर, २५ भदौ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ धारा जडानका लागि आवेदन खुला गरेको थियो ।

तर, त्यो भन्दा दुई वर्षअघि नै नयाँ धाराका लागि फाराम भरेका ७०० ले समेत नयाँ धारा पाएका छैनन् । अहिले धारा नपाएपछि उपभोक्ता आक्रोसित भएका छन् । धारा जडानका लागि भन्दै गत बैशाखमा रु २५ हजार राजश्वसमेत बुझाई सकेको भए पनि अहिलेसम्म धारा जडान भएको छैन । नयाँ धारा जडानका लागि गत बैशाख १५ गतेभित्र राजश्व बुझाउन खानेपानीले अनुरोध गरेको भन्दै सोही आधारमा राजश्व बुझाइएको थियो ।

दुई वर्षअघि खोलिएको आवेदनमा ७०० जनाले फाराम भरेको भन्दै ती उपभोक्तालाई चाँडै तीजपछि धारा वितरण गर्ने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज ओलीले बताए । गत वर्ष फागुनमा आवेदन माग गरिएकाको भने अझै एक÷दुई वर्ष लाग्न सक्ने उनको भनाइ छ । अहिले खानेपानीको उपयुक्त स्रोत नहुँदा पनि धारा वितरण गर्न नसकिएको उनले बताए ।

“यही वर्षको साउनमा हामीले नयाँ धारा जडान गर्ने योजना बनाएका थियौँ”, उनले भने, “तर पर्याप्त वर्षा भएन, मुहान बढेनन्, त्यसैले पनि हामीले नयाँ धारा जडान गर्न सकेनौँ ।” अर्कोतर्फ कार्यसमितिको बैठक पनि नबसेकाले यस्तो समस्या भएको समेत उनको भनाइ छ । दुई महीनादेखि कार्यसमितिको बैठक बस्न नसकेको उनले बताए । नयाँ धारा जडान गर्दा पानी पु¥याउन केही समस्या भए पनि फाराम भरेकालाई धारा भने जडान गर्ने उनले बताएका छ् । नयाँ मुहानको व्यवस्था नहुँदासम्म धारा वितरण गर्न नसकिने अध्यक्ष ओलीको भनाइ छ ।

त्यसका लागि करीब रु ४०÷५० करोडको योजना पूरा भएको हुनुपर्ने उनको भनाइ छ । धारा दिने ठूलो कुरा नभई जडान गरेका धारामा नियमित पानी दिनु ठूलो कुरा हुने उनको भनाइ छ । उनले बबईको पानी लिफ्टिङ गरेर ल्याउनका लागि डिपिआर भइरहेकाले सोही योजनाको काम पूरा भएपछि मात्रै थप धारा जडान गर्न सकिने बताए । अहिले तुलसीपुरमा छ हजार ५०० धारामा दैनिक खानेपानी प्रदान गरिँदै आइएको छ ।

तीमध्ये एउटा धाराको सहारा १५ घरपरिवारले लिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । सरकारले अघि सारेको ‘एक घर, एक धारा’ को अवधारणालाई अघि बढाउनका लागि तुलसीपुरमा अझै थप १५ हजार धारा वितरण गर्नुपर्ने आवश्यकता रहेकोसमेत अध्यक्ष ओलीको भनाइ छ । यो समस्या समाधान गर्न पातुखोलामा हाइड्याम निर्माण गर्नुपर्ने उनले बताए ।
रासस



प्रतिक्रिया दिनुहोस्