Logo

‘एक घर, एक करेसाबारी’ अनिवार्य



गलकोट,२५ भदौ । बागलुङको गलकोट नगरपालिका–३ हटियाले चालू आर्थिक वर्षमा ‘एक घर–एक करेसाबारी’ कार्यक्रम शुरु गरेको छ । विषादी तरकारीको आयात रोकी अग्र्यानिक तरकारी उत्पादनमा जोड दिने उद्देश्यले वडाका प्रत्येक घरलाई अनिवार्य लागू हुने गरी सो कार्यक्रम थालेको हो ।

करेसाबारीलाई अनिवार्य गर्दा कृषिखेतीको प्रवद्र्धन हुने र अग्र्यानिक तरकारी घरमै उत्पादन हुँदा विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी आउने अपेक्षा गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । वडा कार्यालयले हटिया बजार क्षेत्रभन्दा बाहिरकालाई अनिवार्यरूपमा ‘एक घर, एक करेसाबारी’ निर्माण गर्न प्रत्येक घरलाई तरकारीका छ प्रकारका बीउ निःशुल्क उपलब्ध गराएको छ ।

“प्रत्येक घरलाई साग, मुला, केराउ, सिमी, धनिया, प्याजका बिरुवा निःशुल्क वितरण गरेका छौँ”, भण्डारीले भने, “एक घर, एक करेसाबारीले स्वस्थ शरीर मात्र होइन, घरलाई समेत सुन्दर र स्वच्छ राख्नेछ ।” वडाभित्रका ५०० घरधुरीले अनिवार्यरूपमा करेसाबारी निर्माण गर्ने र त्यसका लागि कृषि प्राविधिकको समेत व्यवस्था गरिएको उनले बताए ।

हटिया बजारसम्मै बुटवललगायत तराईका जिल्लाबाट तरकारी आयात बढ्दै जान थालेपछि यो वर्ष ‘एक घर, एक करेसाबारी’ निर्माण गर्नका लागि वडा कार्यालयले रु तीन लाख ५० हजार बजेट विनियोजन गरेको छ । वडा नं ३ ले शुरु गरेको ‘एक घर, एक करेसाबारी’ अभियानलाई नगरपालिकाभर विस्तार गर्ने योजनामा रहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

घर–घरमा तरकारीको बीउ उत्पादन गर्ने र तरकारी खेती तथा प्राङ्गारिक मल उत्पादनका लागि प्रत्यक्षरूपमा प्राविधिक सहयोग गर्ने कृषि प्राविधिक रुद्र पाठकले बताए । अनिवार्यरूपमा करेसाबारी नबनाउने र उत्पादन नगर्ने घरपरिवालाई नगरपालिकाद्वारा प्रदान गरिने अनुदान तथा सहयोग कट्टा गरिने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले आगामी आर्थिक वर्षमा एक घर, एक करेसाबारीलाई थप बजेट विनियोजन गर्ने योजना नगरपालिकाको छ । वडा कार्यालयले ल्याएको योजना निकै प्रशंसायोग्य भएको स्थानीय कृषक धनबहादुर अधिकारीले बताएका छन् । पैसासँग विष साटेर खाने प्रवृत्तिको अन्त्यका लागि घर, खेतबारीमै अग्र्यानिक खेतीबाली उत्पादन गर्नुपर्नेमा कार्यक्रमले थप प्रेरणा र सन्देशसमेत दिने उनको भनाइ छ ।
रासस



प्रतिक्रिया दिनुहोस्