Logo

नेपाल कम्युनिष्ट पार्टीमा नयाँ ध्रुवीकरण (को कता)



काठमाडौं, भदौ २५ । नेपाल कम्युनिष्ट पार्टीमा नयाँ ध्रुवीकरण बनेको छ । प्रभावशाली नेता वामदेव गौतम प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नजिक पुगेपछि ध्रुवीकरण बनेको हो ।

गौतम कुनैबेला प्रचण्डका सबैभन्दा नजिक थिए । उपाध्यक्ष बनाउने प्रतिवद्धतासँगै कास्कीको उपनिर्वाचनमा उम्मेदवार बनाउने वाचा गर्दै ओलीले गौतमलाई आफू नजिक ल्याउन सके । कुनैबेला ओलीलाई अध्यक्ष जिताउन महत्वपूर्ण भूमिका खेलेका गौतम उनीसँग निकै चिढिएका थिए । तर, ओलीले मनाएर आफू नजिक ल्याएका छन् ।

ओलीसँग टाढिएका झलनाथ खनाल पनि नजिकिएका छन् । वरियतामा तेस्रो स्थानमा राखिदिएपछि खनाल खुशी भए । सचिवालय सदस्य इश्वर पोखरेल ओलीको नजिक छन् । महासचिव विष्णु पौडेल ओलीका विश्वासपात्र हुन् ।

प्रधानमन्त्री भइसकेका माधवकुमार नेपाल ओलीसँग निकै चिढिएका छन् । सिंगापुर जानुअघि उनको भनाभन समेत भयो । ओलीले नेपाललाई वरियतामा चौंथो स्थानमा धकेलिदिए । कुनैबेला ओली तत्कालिन नेकपा एमालेको महासचिव भइसकेका नेपालका विश्वासपात्र थिए । दुवैबीचको मिलनले वामदेव गौतम यसरी धकेलिए कि उनी पार्टी फुटाएर जान वाध्य पारिए । अहिले ओली र नेपालबीच विवाद बढेको छ ।

ओलीसँग दूरी बढेलगत्तै नेपाल प्रचण्डसँग नजिकिएका छन् । दुवैबीच पटक पटक भेटघाट भइसकेको छ । अब कसरी जाने भन्नेबारे दुवैले मिलेर रणनीति बनाएका छन् । प्रचण्ड र माधव नेपाल एकातर्फ हुँदा नेकपामा यो समूहको पल्लाभारी हुनसक्छ । यसले ओलीमाथि दबाब बढेको छ । प्रचण्डको साथमा रामबहादुर थापा बादल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।
सचिवालयमा ओलीको बहुमत छ । प्रचण्डभन्दा ओलीको एकजना बढी सदस्य छन् । सचिवालयमा मात्र नभई संसदमा पनि ओलीको बहुमत छ ।

प्रचण्डसँग भएका केन्द्रीय नेताहरुमध्ये चुनाव हारेका र सांसद नभएकाहरुको संख्या रहेको छ । संसदीय दलमा बहुमत नभएकाले प्रचण्डलाई भविष्यमा प्रधानमन्त्रीको दाबी गर्न निकै चुनौती छ । आलोपालो साँढे दुई वर्ष प्रधानमन्त्रीको सहमति भएको भनिएपनि प्रचण्डले नपाउने अवस्था पनि बन्नसक्छ । संसदीय दलमा कमजोर रहिरहे प्रचण्डलाई राजनीतिक धक्का लाग्न सक्छ । पूर्व माओवादी नेताहरुले भनेजस्तै पार्टी एकीकरण गरेर पछुताउनुपर्ने परिस्थिति बन्नसक्छ । प्रचण्डले यस्तै आशयको अभिव्यक्ति दिइसकेका छन् । यस्तो अवस्था आउन नदिन प्रचण्ड रणनीतिक चार्तुयताका साथ सक्रिय भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्