Logo

गाँजाको प्रयोग र फाइदा



नेपालमा गाँजाको प्रयोग र व्यापार अवैध मानिन्छ । यसको प्रयोगले समाजमा विभिन्न किसिमका अनैतिक कार्य र घटना हुन्छ भन्ने जनविश्वास छ । तर, गाँजा औषधिका रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । धेरै देशमा यसको प्रयोग वैधानिक भइसकेको छ ।

पछिल्लो समय गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे विभिन्न अनुसन्धान गरिएको छ । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोगको उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ । अनुसन्धानले शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने पुष्टि गरेको छ । गाँजा मिसाइएको औषधि दिँदा क्यान्सर बिरामीलाई पीडा कम हुनुका साथै निराशाबाट बाहिर ल्याउन मद्दत गर्छ ।

गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख गरिन्छ । निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको छ । नाकबाट पानी बग्ने रोगका लागि गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ लाई ओखती मानिन्छ । अनिद्रा र उच्चरक्तचापका बिरामीलाई दिइने ‘सर्पगन्धा’ मा गाँजाको कण हुन्छ । गाँजाबाट बनेको ‘मोदनानन्द मोदक’ मानसिक र डिप्रेसनका बिरामीलाई दिइन्छ ।

डिप्रेसन, पाचन गडबडी र झाडापखाला ठीक पार्ने, छारेरोग लगायत धेरै मनोवैज्ञानिक रोग निदानमा गाँजाले ओखतीको काम गर्छ । गाँजा सेवनले पुरुषमा शुक्रकिट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवास क्षमता बढाउने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने लगायतका कामहरुमा सहयोग गर्छ । यसैकारण कम्तीमा ८० वटा प्राचीन आयु्र्वेदिक औषधि सूत्रमा गाँजा अटाएको हो ।

बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुँदै आएको थियो । गाँजाको कण मिसाईएको ‘रामबाण रस’ वा ‘रातोबरी’ भन्ने औषधिले जस्तोसुकै झाडापखाला पनि निको पर्छ ।

गाँजको सेवनलाई पहिले उरुग्वे देशसँगै नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता थुप्रै देशहरुले कानुनी मान्यता दिएको छ भने अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल लगायतमा यसको औषधि प्रयोग गर्न छुट छ ।



प्रतिक्रिया दिनुहोस्