Logo

डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा गर्न माग



काठमाण्डौ । देशभर फैलिएको डेंगु रोगले हजारौँ विरामी परिसकेका छन् । सरकारले गरेको नियन्त्रणको प्रयास पूरै असफल देखिएको छ । दिनप्रतिदिन संक्रमण फैलिन थालेपछि सांसदहरुले संकटकाल घोषणा गर्न माग गरेका छन् ।

देशका विभिन्न जिल्लामा डेगुंको सक्रमण फैलिएसँगै त्रास नै फैलिएको छ । न फैलियोस नि कसरी ? अस्पतालमा उपचार गर्न आएका अधिकाशं विरामीमा डेगुं देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सकलाई यति बेला भ्याइनभ्याइ छ । डेंगुको शंका गर्दै होस या डेगुं सक्रमितहरु जाँच गर्न आएका बिरामीको लाइन लागेको छ ।

काठमाण्डौमा ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएका छन् । राजधानी बाहिर केही महिना अघिदेखि नै डेंगुको संक्रमण फैलँदा पनि सरकारले रोकथाम गर्न सकिरहेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले ३ सय ५० रुपैया मात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैया सम्म लिने गरेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरेकी थिइन् । वलीले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा पनि सांसदहरुले डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद विना देवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतिपुर्ण बनेको र संक्रमण फैलिदै जाँदा जनता पनि आतंकित भएको भन्दै प्रभावकारी रुपमा नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुजाता परियारले डेंगुको संक्रमण बढ्दै गएको भन्दै सदनमा दैनिक कुरा उठिरहदा पनि सरकार गम्भीर नबनेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।

बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाण्डौमा २ सहित ६ जनाको मृत्यु भईसकेको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको साटो फैलिदै गएको छ । तर सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्