Logo

स्वास्थ्यमन्त्री यादवलाई राजीनामा दिन दबाब



काठमाडौं, २६ भदौ । मुलुक यतिवेला डेंगु महामारीको चपेटामा परेको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भने कुनै मतलव छैन् । उनले गैरजिम्मेवारीपन देखाएको मन्त्रालयकै कर्मचारीहरुको आरोप छ । देशभरिका सरकारीदेखि निजी अस्पतालहरु यतिवेला डेंगुको संक्रमणित विरामीहरुले भरिएका छन् ।

तर, स्वास्थ्यमन्त्री यादव भने कहिले विदेश सयरमा त कहिले पार्टीको काममा देश दौडाहामा व्यस्त रहने गरेका छन् । सरकारले डेंगुका विरामीहरुलाई निःशुल्क उपचार गर्ने बताएपनि यसको प्रभावकारी कार्यान्वयन भने फितलो देखिएको छ ।  डेंगुकै कारण आधा दर्जन नेपालीले ज्यान गुमाएका छन् । त्यस्तै, हजारौंको संख्यामा जनता संक्रमित बनेका छन् ।

केही समय अघि पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री यादवले डेंगु नियन्त्रणमा सरकारले केही पनि गर्न नसक्ने भन्दै यति गम्भिर विषयलाई पनि हल्का रुपमा लिएका थिए । यादवको वर्तमान सरकारमा सत्तारोहणको एक वर्षभन्दा बढि समय व्यतित भैसकेको छ ।

तर, उनले जनतालाई राहत पुर्याउनेगरि खास उपलब्धिमूलक काम गर्न सकेका छैनन् । पार्टीभित्रैबाट समेत उनको कार्यशैलीको आलोचना भैरहेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यजस्तो संवेदनशील मन्त्रालयको नेतृत्व गरेका यादव भने मन्त्रालयको काममा भन्दापनि निजी स्वार्थमा विदेश यात्रामा अलिक बढि तल्लिन देखिन्छन् ।

सरकार र सरकार बाहिर मन्त्रीको चर्को आलोचना भइरहेको बेला डेङ्गु महामारीलाई नियन्त्रण गर्ने दिशातर्फ पनि खासै हस्तक्षेपकारी भूमिका खेल्न सकेको छैनन् । यसले गर्दा यतिखेर मन्त्री यादवले राजीनामा दिनुपर्ने कुरासमेत उठ्न थालेको छ । मन्त्री भएदेखि अहिलेसम्म यादवले भारत, अमेरिका, काजकिस्तान, स्विट्जरल्यान्ड, थाईल्याण्ड, भियतनाम, र बेलायतलगायत दर्जनौं देशहरुको भ्रमण गरिसकेका छन् ।

उनको विदेश यात्रा दशैंको टिका सकिएलगत्तै फेरि सुरु हुँदैछ । यादव दुई दिने भ्रमणको लागि यही असोज २३ गते लण्डन जाँदैछन् । लण्डनबाट फर्किएलगत्तै उनी असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म टर्कीको आनटल्या जाँदैछन् । त्यस्तै, कार्तिक ८ र ९ मा काजकास्तानको अस्तानामा र कार्तिक १३ देखि १५ मा जेनेभा जाने कार्यक्रम तय भएको छ ।

मंसीर २६ र २७ गते भारतमा स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुने पनि यादवको कार्यक्रम तय भएका छन् । मन्त्री यादवसँग यतिवेला मधेशी जनतासमेत रुष्ट बनेका छन् । यादवले पटक–पटक मधेशी जनतालाई धोका दिएको राजनीतिक विश्लेषकहरुको ठम्याई छ । उनको यस पटकको सत्तारोहणमा पनि व्यक्तिगत स्वार्थ गाँजिएको छ । यादवले मालदार मन्त्रालय हात पारेका छन् । निजी अस्पताल सञ्चालकहरुसँग बाक्लो हिमचिम बनाएका छन् ।

संविधान संशोधन गराउने शर्तसहित सरकारमा सहभागी भएका यादव अहिलेसम्मपनि यो मुद्दाबारे खरो रुपमा प्रस्तुत हुन सकेका छैनन् । उनलाई संविधान संशोधनसँग कुनै मतलव छैन् । नयाँ शक्ति, नेपालसँगको एकतापछि बनेको समाजवादी पार्टीभित्र तत्काल सरकार छोड्नुपर्ने नेताहरुको दबाब छ ।

पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत सरकार छोड्नुपर्ने अडान लिएका छन् । हालै बसेको पदाधिकारी बैठकमा यो विषय जोडतोडले उठेको थियो । तर, यादवले तत्काल सरकार छोड्नेबारे सोच्नपनि नसकिने भन्दै बाबुरामलाई चुप लागेर बस्न चेतावनी दिएका थिए ।

आजमात्रै पनि मन्त्री यादवको राजीनामाको बारेमा प्रतिनिधिसभाको बैठकमा आवाज उठेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री सञ्जय गौतमले मन्त्री यादवको राजीनामा मागेका हुन् ।  बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगीको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै यस सम्बन्धमा सरकारको धारणा माग गरेपछि सभामुखले रुलिङ गरेका हुन् ।

उनले डेंगी संक्रमणका विषयमा संसदमा पटक–पटक आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन स्वास्थ्यमन्त्री र सरकारलाई निर्देशन दिएका हुन् । तर, सभामुखको रुलिङपछि पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भने स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् ।

रुलिङ गरेर झारा टार्ने भन्दै उनले स्वास्थ्य संकटकाल घोषणा गरेर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरे । केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर डेंगीका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्