Logo

काठमाडौंका सडक अलपत्र, मन्त्री रमिते !



चाबहिलमा बीच सडकमै ढल फुटेर सास्ती 

काठमाडौं, २६ भदौ । काठमाडौंका सडकहरु जताततै अलपत्र परेका छन् । कहिले मेलम्चीको पानी ल्याउने नाममा सडक खनिने त कहिले असारे बजेट झ्वाम पार्न भएको पीच भत्काएर नयाँ पिच गर्ने नाउमा सडक अलपत्र भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंमा भएका सबै खाल्डाखुल्डी यति दिन र यति महिनाभित्र पुरिसक्ने भन्दै दाबी गर्छन् । तर, उनको दाबी अहिलेसम्म पुरा भएको छैन । पानी पर्दा काठमाडौं हिलाम्मे हुने र चर्को घाम लाग्दा धुलाम्य हुने त पूरानै रोग हो ।

चावहिल–बौद्ध–साँखु सडक अझैपनि अस्तव्यस्त छ । दैनिक आवागमनमा कठिनाई छ । स्थानीयहरुले पटक-पटक सरकारको विरोधमा प्रदर्शनसमेत गरे । चक्काजाम नै गरेर मन्त्रीको विरोध गरे । मन्त्री महासेठ जम्बो टोली लिएर बेला-बेलामा निरीक्षणमा नगएका होईनन् । तर, अहिलेसम्म परीणाम देखिनेगरि कुनै काम भएको छैन् ।

काठमाडौंवासी अलपत्र सडकका कारण सरकारलाई सराप्न बाध्य छन् । अरु त परै जाओस मन्त्रीको निजी निवास भैसेंपाटी जाने बाटो नख्खु अहिले धुलोको कुईरीमण्डलमा परिणत भएको छ । विहान लगाएर गएको लुगा बेलुका घर फर्किदा चिनिँदैन् । सायद, मन्त्री महासेठ महिनामा दश पटक भन्दा बढि त त्यही सडक भएर मन्त्रालय र मन्त्री क्वार्टर आउजाउ गर्छन् होला । उनले पनि नख्खुको धुलो र अलपत्र सडक आफू सवार गाडीको कालो सिसाबाट देखेकै हुनुपर्छ । तर, उनले द्रुत गतिमा यी र यस्तै खालका सडक मर्मतसम्भारका कामलाई निरन्तरता दिन सकेका छैनन् ।

केही समय पहिले काठमाडौंमा सम्पन्न भएको विस्मेटक सम्मेलनलाई लक्षित गरेर काठमाडौंका खाल्डाखुल्डी पुर्ने काम भएको थियो । त्यतिवेला, मन्त्री महासेठ आफैं फिल्डमा उत्रिएर निरीक्षण तथा निर्देश दिने गर्दथे । त्रिपरेश्वर(महाराजगञ्ज, सिनामंगल(रत्नपार्क, रत्पपार्क आसपास, रिंगरोड, ललितपुर पाटन दरबार क्षेत्र र भक्तपुर जाने सडकमा खाल्डाखुल्डी पुर्ने काम भएको थियो । त्यही अनुसारको कामले निरन्तरता पाएको भए यतिवेलासम्म काठमाडौंमा कहीँ कतै पनि खाल्डाखुल्डी हुने थिएनन् ।

मन्त्रीको ध्यान ठूला-ठूला ठेक्का पट्टामा केन्द्रित छ । पछिल्लो समय उनी निकै विवादित बनेका छन् । उनको कार्यशैलीलाई लिएर पार्टीभित्रैबाट प्रश्न उठेका छन् । पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले त काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्नको लागि मन्त्री महासेठलाई अल्टिमेटम नै दिएका थिए । खासगरि नेता नेपालले जोरपाटी–साँखु सडक खण्डको बारेमा मन्त्री महासेठको ध्यानाकार्षण गराउँदै आएका छन् । काठमाडौंका सडक अलपत्र तथा अस्तव्यस्तताबाट जनताले सास्ती खेपिरहँदा मन्त्री भने रमिते मात्रै बनेको भनेर जनस्तरबाट आलोचना सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्