Logo

काँग्रेसभित्र गुटै गुट, भावी नेतृत्वको पूर्वाभ्यास



समाचार विश्लेषण । नेपाली काँग्रेस अहिले बलियो राजनीतिक एजेन्डा विना गुटको क्लब जस्तो भएको छ । देशमा राजनीतिक परिवर्तन भएसँगै काँग्रेसमा मौलाएको गुटको राजनीतिले अहिले वृहत रुप धारण गरिसकेको छ । बाहिरबाट देखिने गरी नै काँग्रेसमा स्पष्ट तीन गुट छ र त्यसमा पनि उपगुटहरु छन् ।

सभापति शेरबहादुर देउवाको समूह सबैभन्दा मजबुत छ । विजयकुमार गच्छेदार काँग्रेस प्रवेश गरेपछि उनी झन् बलियो भएका छन् । देउवाको साथमा उपसभापतिहरु गच्छेदार र विमलेन्द्र निधि छन् । महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत पनि उनको समूहका हस्ती हुन् । पार्टीका अधिकांश केन्द्रीय सदस्य देउवा पक्षधर छन् ।

रोचक, देउवा पक्षमा पनि दुईवटा बलियो उपगुट छ । उपसभापति विजयकुमार गच्छेदार र विमलेन्द्र निधिको आफ्नै समूह छ । तराई मधेशबाट प्रतिनिधित्व गर्ने दुवै नेता क्षेत्र देखि केन्द्रसम्म प्रतिष्पर्धी हुन् ।

देउवालाई कडा टक्कर दिदै आएको अर्को समूहको नेतृत्व रामचन्द्र पौडेलले गर्छन् । पौडेललाई कोइराला परिवार र प्रकाशमान सिंहको समर्थन रहने गरेको देखिएपनि अवस्था बदलिदै गएको छ । पौडेलको पक्षमा संगठनमा पकड भएका बलिया नेताको अभाव छ । तैपनि, डा.रामशरण महतलगायतको बलियो समर्थन छ ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफ्नो समूह जोगाएर राखेका छन् । उनी बेला बेलामा सशक्त रुपमा प्रस्तुत हुन्छन् । उनको समूहमा युवा नेता गगन थापा छन् । तर, गगन पनि आफै स्थापित हुने गरी पर्ख र हेरको रणनीतिमा छन् ।

बलियो गरी देखापर्दै गएको समूह हो कोइराला परिवार । संगठनमा बलियो पकड भएको कोइराला परिवारका सदस्यमध्ये डा. सशांक कोइराला महामन्त्री छन् । डा. शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्य हुन् । सबैको आ आफ्नै संगठनमा पकड छ । यो समूहबाट काँग्रेसको भावी नेतृत्व हात पार्ने प्रयास भइरहेको छ । तीनैजना कोइराला परिवारका सदस्य मिलेमा असम्भव नभएको निकटहरुले सुझाव दिनेगरेपनि सजिलो छैन । डा.सशांक र डा. शेखर दुवै भावी सभापतिका दाबेदार हुन् । पौडेल समूहसँग नजिक भएपनि कोइराला परिवारको आफ्नै समूह बलियोसँग खडा भइसकेको छ । यो समूहले नयाँ राजनीतिक एजेन्डा अगाडि बढाउने कसरत पनि गरिरहेको छ । एजेन्डाबाट राजनीतिक शक्ति आर्जनमा लागेको छ ।

गणेशमान सिंहको लिगेसी बोकेका प्रकाशमान सिंह संगठनमा बलियो छन् । चुनावमा उनले प्राप्त गर्ने मतबाट पकड बुझ्न सकिन्छ । सिंह पार्टीको लाइनभन्दा बाहिर गएर बोल्दैनन् र कुनै कार्य पनि गर्दैनन् । आलोचना गर्नुपरेपनि पार्टीको आन्तरिक बैठकमा गर्छन् बाहिर हत्तपत्त बोल्दैनन् । सुस्त गतिमा बढेर पार्टी नेतृत्व हात पार्ने रणनीतिका साथ लागिपरेका छन् । काँग्रेस संसदीय दलमा पनि रामचन्द्र पौडेलभन्दा उनको पकड बलियो छ । तर, सिंहले बलियो राजनीतिक एजेन्डा बढाउन सकेका छैनन् ।

यीनै नेताहरुको सेरोफेरोमा काँग्रेस अगाडि बढ्न खोजिरहेको छ । एक वर्षभित्र हुने महाधिवेशनमा काँग्रेसको नेतृत्व हात पार्न बनिरहेको गुट उपगुटले चुनौतीसँगै अवसर पनि बढाएको छ । भावी नेतृत्वमा देउवा नै रहने या विस्थापित गर्ने यही गुट उपगुटको ध्रुवीकरणबाट निक्र्यौल हुन्छ । रामचन्द्र पौडेल चुनाव हार्नुमा कृष्णप्रसाद सिटौलाले सहयोग नगरी आफै चुनाव लड्नु मुख्य कारण बनेको थियो । भविष्यमा काँग्रेसको नेतृत्वमा देउवा समूहबाट विगतमा संस्थापन पक्षबाट विद्रोह भएजस्तै विद्रोह भई भित्र भित्र हुने ध्रवीकरणले मात्र देउवालाई विस्थापित गर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्