Logo

वीपीलाई राजा र धर्मसँग जोडेर धमिल्याउन पाइँदैन- रामचन्द्र पौडेल



नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सिद्धान्त र विचारबाट पार्टी संचालित हुनुपर्ने पक्षमा छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपलाी बहसका लागि ऋषि धमलाले बुधबार गरेको कुराकानी:

तपाईं वीपी कोइरालालाई सम्झनुहुन्छ ?
वीपी जन्म दिन भएकाले उहाँको सिद्धान्त र चिन्तनमा हामीहरुले केही काम गरेका छौं । त्यसलाई पनि सम्झौने दिने हो । वीपीको एउटा कल्पना थियो जहाँ कसैले कसैको शोषण गर्न नपाओस् । कसैले कसैमाथि थिचोमिचो, शोषण, दमन, हैकम, गर्न नपाओस् भन्ने उहाँको सोचाइ हो । त्यही मेसोमा रहेर समाजको विकासको लागि हामी पनि काम गरिरहेका छौं । वीपीको सम्झना गर्नुपर्दा मानवता, लोकतन्त्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो । उहाँले यो राष्ट्रका सबै जनतालाई आफ्नो सरहको हैसियत दिलाउने लक्ष्य लिनुभएको थियो । उहाँको राजनीति नितान्त नेपाल र नेपाली जनताको लागि थियो । अरुले वर्ग, जाति, धर्म, वर्ण, समुदायको राजनीति गरे भने वीपीले मानवताको राजनीति गर्नुभयो ।
वीपी कोइरालाको सिद्धान्तलाई कांग्रेसले पोलेर खाएको हो ?
पहिला खानेले खाए होलान् तर अहिले खाएको छैन ।
वीपीको मार्गदर्शन कांग्रेसले मानेको छैन नि ?
अहिले पूर्ण रुपमा वीपीकै मार्गदेर्शन र सिद्धान्तमा कांग्रेस अगाडि बढिरहेको छ । बीचमा विभिन्न बिकृति÷विसंकगतिहरु आउँछन् त्यसलाई सच्याउँदै अगाडि बढ्छ कांग्रेस ।
तपाईं त समाजवादी नेता गरिब, दुखीको पक्षमा काम गर्नुभएको छ ?
वीपीको सिद्धान्त भनेको गाउँगाउँमा बसेका गरीव, दुःखीको जीवनस्तर उठाउने हो । त्यो काम हमीले गरेका छौं । हामीले हिमाल, पहाड, तराई, कर्णालीका विकट जिल्लाहरुमा पनि बाटो, बिजुली, खानेपानी, सडक विस्तार, शिक्षा, रोजगार, स्वास्थ्यलगायतका क्षेत्रमा काम गरेका छौं । यही कामले कर्णालीका जनतालाई कम्तिमा अकाल मृत्युबाट जोगाएका छौं । कमसेकम मानिसलाई न्यूनतम शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जना गरी अधिकार सम्पन्न गराउने काम हामीले गरेका छौं । वीपीको पनि चाहना त्यही थियो आज कांग्रेस त्यही बाटोमा अगाडि बढिरहेको छ । कम्तिमा पनि खान, लाउन नपाएर मर्ने आज नेपालमा केही जनता छैन त्यो हैसियतमा नेपाली जनतालाई हामीले पु¥याएका छौं । तर, वीपीले जति चाहनुभएको थियो । त्यो अवस्थामा पु¥याउन सकिएको छैन । मुलुकमा सुन्दर व्यवस्था बसाल्न खोज्दाखोज्दै बीचबीचमा ‘कू’ गर्नेदेखि बम प्रहारसमेत भए र पनि हामीले धर्म छाडेका छैंनौं ।
तपाईंहरु जसरी पछिल्लो समय गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालाई एजेन्डा बनाइरहनुभएको छ त्यो वीपीको लाइन हो ?
वीपी कोइरालाले कहिल्यै कसैलाई भेदभावको दृष्टिले हेर्नुभएन । वीपीलाई कसैले राजा, धर्म, तन्त्र, वादसँग जोडेर बंग्याउन पाइँदैन । उहाँले कहिल्यै पनि जाति, धर्म, वर्ण, भाषा, समुदाय, मधेसी, पहाडे, गाउँले, शहरिया भनेर भेदभावको राजनीति गर्नुभएन । यी सबै समुदायालई समान दृष्टिकोणले हेरेर विशुद्ध मानव अधिकार र कल्याणको राजनीति वीपीले गर्नुभयो । उहाँले क्षेत्रीय, भेगीय र वर्णलाई सबै नेपाली हुन् भन्ने दृष्टिले हेर्नुभयो । नेपाली कांग्रेस अहिले पनि त्यही दिशामा अगाडि बढिरहेको पार्टी हो ।
वीपीले पनि पहिला प्रजातन्त्रको लागि राजा र मेरो घाँटी जोडिएको छ, भनेका थिए, अहिले कांग्रेसमा हिन्दु धर्म र राजसंस्थाको बारेमा किन बहस सुरु भएको छ ?
वीपीलाई हल्का ढंगले जथाभावी जोड्न पाइँदैन । उहाँले पहिला यस्तो भन्नुहुन्थ्यो, उस्तो भन्नुहुन्थ्यो भनेर उहाँको निष्ठालाई धमिल्याउन पाइँदैन । त्यो बेलामा देश जोगाउनका लागि एउटा परिस्थिति आएको थियो । ठिकै छ राष्ट्रियताका लागि राजा र हामी मिलेर जानुपर्छ तर राष्ट्रघाट हुन दिनुहुँदैन भनेकै हो । तर, तिनै तत्वहरुले पछि जोडिएको घाँटी छिन्छौं छिन्छौं भनेर नारा पनि लगाए । आठ वर्षसम्म वीपीलाई तड्पाइतड्पाई मारे नि त । मिलेर जाऔं भन्दा पनि वीपीलाई सफल हुन दिएनन् ।
तर प्रकाशचन्द्र लोहनी र कमल थापाहरुले त वीपी महान थिएन उहाँका विचार कांग्रेस छोडे पनि हामी बोक्छौं भन्नुभएको छ नि ?
उहाँहरुले आत्मालोचना गर्न पाउनुहुन्छ । हामीले त्यति बेला गल्ती गरेछौं वीपीलाई थुन्नुपर्छ, झुन्डाउनुपर्छ भनेर । नेपाली जनताले हामीलाई माफी दिनुपर्छ भन्नुपर्छ उनीहरुले ।
नेपाली कांग्रेस आज पनि वीपीकै लाइनमा छ ?
नेपाली कांग्रेस हिजो पनि वीपीकै लाइनमा थियो । आज पनि छ र भोलि पनि त्यहीं बाटो र मार्गनिर्देशनमा अगाडि बढ्छ । वीपी कोइराला कुनै एउटा संप्रदायको होइन उहाँ सबै नेपाली जनताको हो ।
कांग्रेसले हिन्दूराष्ट्रको एजेन्डा बनाउन थालेको छ नि ?
हिन्दूराष्ट्रप्रति हाम्रो धारणा सकारात्मक होला । धर्म, संस्ककार, संस्कृतिको म गौरव गर्छु । तर, फेरि यो होइन कि अरु धर्म, संस्कार संस्कृतिलाई हेला गर्छु त्यो होइन । हामी धार्मिक स्वतन्त्रताको पक्षमा हुन्छौं । धार्मिक स्वतन्त्रता हुनुपर्छ सबैले आपूmलाई मन परेको धर्म मान्न पाउने अधिकार हुनुपर्छ ।
वीपी कोइरालाले त धर्मको बारेमा कहीं बोल्नुभएको छैन नि ?
त्यहीं भएर तपाईंलाई यस्तो कुरासँग उहाँलाई नजोड्नुस् भनेको छु ।
कांग्रेसकै नेताहरुले वीपी त राजसंस्था र हिन्दुवादी नेता हो भन्न थालेका छन् नि ?
तत्कालीन अवस्थामा समाजमा कति ठूलो भेदभाव थियो । त्यो भेदभावलाई निर्मूल पार्ने नेता वीपी कोइराला हो । उहाँले कहिल्यै पनि जाति, धर्मको राजनीति गर्नुभएन । अहिले आएर बाबुहरु दलीतलाई हिन्दू धर्म यस्तो भन्न थालेका छन् । पहिला सबै समुदायका मानिसलाई एकै ठाउँमा राखेर सप्ताह पुराण भन्ने नारायण कोइरालालाई मार्ने तिनै बाबुरामहरु होइनन् ।
अब नेपाली कांग्रेस कसरी अगाडि बढ्छ ?
संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी गइसकेका छौं । संविधान त्यसैगरी बनिसकेको छ । त्यसलाई संस्थागत गरेर मानेर अगाडि जानु हाम्रो धर्म हो । मुलुक जे परिवर्तन आएको छ । त्यसलाई उल्टाउन खोज्ने तत्वसँग लड्नु नै वीपीको अनुयायी हुनुहो ।
महासमितिमा त हिन्दु राष्ट्रका कुरा उठेका थिए नि ?
महासमितिमा साथीहरुले आफ्ना धारणा राख्नुभयो । लोकतान्त्रिक पार्टीभित्र विचार राख्न पाउने स्वतन्त्रता हुन्छ । यस्ता कुरा ल्याएर वीपीलाई विवादमा पार्ने काम गर्नुहुदैन । वीपीले कहिल्यै पनि यो धर्म, वर्ण, जाति, भाषा, भनेर राजनीति गर्नुभएको छैन । उहाँले सम्पूर्ण नेपालीजनको अधिकारको लागि राजनीति गर्नुभएको हो ।
कांग्रेसमा मेलमिलापको नीति आज पनि आवश्यक छ ?
हिमाल, पहाड, तरई, गाउँ, शहर सबै क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबीच मेलमिलाप नेपाली कांग्रेसको आवश्यकता हो । सबै वर्ग, समुदाय, जाति, भाषी, संस्कार, संस्कृतिमा नेपाली कांग्रेसको मेलमिलाप छ ।
पार्टीभित्रै नेताहरुबीच मेलमिलाप देखिएन नि ?
वीपी कोइरालासँग मातृकाको पनि कुरा मिल्दैनथ्यो । कतिपय वीपी र पूर्ण, गणेशमानजीहरु सँग कुरा मिल्दैन थियो । त्यो भइहाल्छ नि राजनीतिमा ।
तपाईंहरु दोस्रो चरणको जागरण अभियान लिएर गाउँ/गाउँ पुग्नुभएको छ हो ?
हो, जनताको घरदैलोमा वीपीको विचार, लोकतन्त्रको महत्वको बारेमा बुझाउँछौं । प्रजातान्त्रिक सिद्धान्त र आदर्श लिएर हामी गाउँ–गाउँ गएका छौं ।
गाउँघरमा जाँदा भ्रष्टाचारको बारेमा कुरा उठाउनुभएन ?
सबैभन्दा पहिला कांग्रेसले गर्ने भनेको भ्रष्टाचारको विरोध हो । जो वीपीवादी छ भने ऊ भ्रष्टाचार विरोधी हुन्छ । वीपी भ्रष्टाचारको विरोधी सदाचारको पक्षधर हुनुहुन्थ्यो । उहाँलाई राजाले जेल हाल्दा पनि वीपीले भ्रष्टाचार ग¥यो भन्न सकेनन् । राजाले उहाँलाइृ महत्वांकाक्षी योजना ल्याउने भनेर मात्र दोषी बनाएका हुन् ।
हाम्रो देशमा ७६१ सरकार छन् तर राम्रो काम त गर्न सकेनन् नि ?
यो सरकारले देशको आवश्यक जनताको प्राथमिकता बुझेन । अलमलमा परेर ‘कुहिराको काग’ बनेको छ । प्रधानमन्त्री ठूला–ठुला कुरा मात्र गर्नुहुन्छ । गफले अकास–पत्ताल जोडेर विकास हुँदैन । देश विकासको लागि ठूलो योजना चाहिन्छ । देशको सम्भावना, साधस्रोत र सामथ्र्यको मूल्यांकन गरेकार काम गर्नु आजको आवश्यकता हो । नेपाली जनताको लागि गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र मानव अधिकार वीपीका न्यूनतम मान्यताभित्र पर्ने विषय हुन् ।
हाम्रो देशका नेता विलासी जीवन बिताउने धेरै भए नि ?
विलाशी जीवन ब्यतित गर्नेले नेपाली जनतासँग आफै जवाफदेही हुन्छ ।
अहिले नेपाली कांग्रेस किन कमजोर भएको हो ?
वीपीको विचारलाई अनुशरण गर्ननसकेर ।
गल्ती कसको हो ?
त्यो नेपाली जनता र पत्रकारले विश्लेषण गर्ने कुरा हो ।
वीपीको विचारबाट पार्टीको नेतृत्व विचलित भएको हो ?
म वीपीको आस्था र विचारमा एक इन्ची पनि तलमाथि गर्दिँन । उहाँको विचारबाट बाहिर कहिल्यै जान सक्दिँन ।
तपाईं कांग्रेसलाई जोगाउनु हुन्छ ?
म कांग्रेस पनि जोगाउँछु । मुलुक पनि जोखाउँछु । जनताका अधिकार र स्वतन्त्रतालाई पनि जोगाउँछु ।
नेतृत्वमा पुग्न त धेरै गाह्रो छ नि ?
पञ्चायती व्यवस्थादेखि ज्यानको बाजी राखेर लागेकै गाह्रो कुराको सामना गर्न हो ।
कांग्रेसमा नीति र नेतृत्वको विवाद छैन ?
हाम्रो नीतिमा के विवाद छैन । हामी वीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद भट्टराईहरुको आदर्श र सिद्धान्तमा हिँडेका मान्छे हौं ।
तपाईं जागरण अभियान गइरहँदा एजेन्ड के हो ?
अहिलेको सरकारले जनताको चाहना अनुसारको काम गर्न सकेन । त्यसैले उनीहरुमा निराशा छाएको छ । अब जनताको चाहना अनुसारको काम गर्ने जिम्मा नेपाली कांग्रेसले लिन्छ भनेर जाने हो ।
परिवर्तनको एजेन्डाको रक्षा गर्ने कांग्रेसको दायित्व हो ?
उपलब्ध परिवर्तनको रक्षा गरेर यसको भावना मर्म अनुसार काम गर्ने हो । नेपाल बारम्बार प्रयोग गर्ने थलो होइन । यो संविधान बनेको छ यसलाई कार्यान्वयन गर्दै अगाडि जाने हो । काम गर्दै जाँदा कहाँनेर गल्ती भएछ त्यस सच्याउने काम गरौंला ।
केही मधेसवादी दलले त संविधान दिवसलाई कालो दिवस भनेका छन् नि ?
त्यो गलत कुरा हो । जननिर्वाचित प्रतिनिधिहरुले बनामएको संविधानलाई कालो दिवस भन्नु उचित होइन । त्यसलाई प्रयोगमा ल्याउने र कहाँनेर कमीकमजोरी भएको छ । त्यसलाई छलफल गरेर सच्याउनुपर्छ ।
संविधान संसोधनको पक्षमा कांग्रेस छ ?
संविधानमा कहीं जनतालाई मार परेको छ र अपुग भएको छ भने त्यसलाई सच्याउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्