Logo

राष्ट्रपति पुत्रको प्रेम प्रस्ताव लत्याउने यी जिम्न्यास्टिक स्टार



विश्वकै सर्वाधिक लोकप्रीय रोमानियाली जिम्न्यास्टिक खेलाडी नादिया कोमानेसीलाई निकु चोसेस्कोले औधी मन पराए । प्रेम प्रस्ताव राखे । नादियाले अस्वीकार गरिन् । पद र प्रतिष्ठाको लालचा देखाए । विवाहका लागि हरतरहको प्रया गरे । नादिया मानिनन् ।
प्रेम र विवाह जर्बजस्ती हुनसक्दैन । निकुको पद, प्रतिष्ठा र पैसाले सच्चा प्रेमको दरबार बनाउन सकेन । रोमानियाका कम्युनिष्ट शासकका प्रीय छोरा थिए निकु । शक्ति केन्द्रमा रहेका निकुले नादियाले सहजै प्रेम प्रस्ताव स्वीकार गर्ने अपेक्षा गरेका थिए । परिस्थिति उनको सोचभन्दा भिन्न भयो । नादियाले निकुको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएपछि आक्रोशित भए ।

मन परेको स्त्री प्राप्त गरिछाड्ने स्वभावका निकु नादियाको प्रेम प्रस्ताव अस्वीकृतिले तनावमा परे । नशा नशामा राजहठ बग्ने गरेको उनी चुप लागेनन् । नादियालाई आफ्नो बनाई छाड्ने उद्देश्यका साथ लागिपरे । स्त्रीहठ त्याग्ने वाध्यात्मक अवस्था सृजना गर्न रणनीतिहरू चाले । केही सीप लागेन । नादिया टसमस भइनन् । निकुलाई घृणा गर्न थालिन् ।

रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई चोसेस्कोका छोरा निकु चोसेस्कोलाई नादियाले प्रेम प्रस्ताव अस्वीकार गर्नुलाई प्रतिष्ठाको विषय बनाए । त्यसमाथि उनी नादियाको प्रेममा पागल थिए । आकर्षक शरीर, उज्यालो मुहार अनि विशिष्ट खेलाडीको पहिचान बनाएकी नादियाको लागि प्रेमपागल बन्ने धेरै थिए । लाखौं मनपराउनेमध्ये निकु पनि एक थिए । निकु कुनैपनि हालतमा नादियालाई आफ्नो बनाउने प्रयासमा लागे । अस्वीकृती जनाएपनि जर्बजस्ती आफ्नो बनाउने रणनीति बुने । प्रेम पाउने नाममा शक्तिको तुजुक प्रदर्शन गरे । नादिया निकुलाई मन पराउँदैनथिइन् । शासक बन्ने लालसाले तानेन । निकुको प्रेमिका वा पत्नी भएर ऐस गर्नुभन्दा कठोर जीवन बाँच्ने निष्कर्षमा पुगिन् । ठाडै नकारिदिइन् ।

निकुको एकोहोरो प्रेमले खतरनाक परिस्थिति जन्मायो । राज्यले नादियालाई दिदै आएको सुविधा रोक्न आदेश दिए । राज्य शक्तिको दुरुपयोग गरे । नादिया आफ्नो शरणमा आउन् भन्ने हेतुले रणनीति चालेका थिए । दृढ र निडर नादिया पछि हटिनन् । मानसिक तनाव दिइरहे । नादियालाई साथी बनाउन दिएनन् । उनको प्रेमी बन्न धेरै रोमानियाली आतुर थिए तर निकुको डरले अघि सर्न सकेनन् । आफूमाथि एकतर्फी प्रेमका नाममा समस्या खडा गर्न खोज्ने शासक पुत्रबाट वाक्क दिक्क भएर नादिया अमेरिका पसिन् । तानाशाह पिताको छोराबाट त्यसै दिनबाट मुक्ती पाइन् । रोमानियामा जन्मे हुर्केकी महान् जिम्न्याष्ट् नादिया कोमानेसीका लागि सुन्दरता आफ्नै लागि घातक बन्यो । मातृभूमीमा टिक्न बस्न सकिनन् । रोमानिया छाडिन् ।

नादियाको सुन्दर र क्षमतावान् व्यक्तित्व जो कसैलाई मोहित पार्न सक्थ्यो । निकु प्रेममा पागल हुनुमा उनको रुप प्रमुख कारण थियो । उनी सुशील र प्रभावशाली थिइन् । नादियालाई कुनै हालतमा आफ्नो बनाउने हठ पालेकाले साम, दाम, दण्ड भेद सबै रचे । त्यस्तो रणनीतिलाई नादियाको मन पगाल्न सकेन । उल्टो घृणा जगायो । २० औं शताब्दीको अन्तसम्म जिम्न्यास्टिकबाट विश्वलाई चकित पार्ने नादिया आजकल प्रशिक्षक छिन् । खेलमै समर्पित भई आनन्दको जीवन बिताइरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्