Logo

अर्काकी पत्नी विवाह गर्न गद्दी त्याग्ने राजा



बेलायतका राजा एडवार्ड आठौंका सामु प्रेमिका वा गद्दीमध्ये एक रोज्ने अवस्था आयो । गहिरो प्रेममा डुबेका एडवार्डले गद्दी छाड्ने निर्णय गर्दै प्रेमिका रोजे । प्रेमिका वालिस वारफिल्ड सिम्सनले गद्दी नत्याग्न लाख सम्झाइन् तर एडवार्ड मानेनन् । ११ डिसेम्बर सन् १९३६ मा गद्दी त्यागेको घोषणा गरे ।

आधा सँसारमा उपनिवेश खडा गरेर राज गरिरहेको बेलायत जस्तो शक्तिशाली देशको राजा एउटी नारीको प्रेमले पग्लिएर सत्ता र शक्ति त्याग्न तयार भए । त्यो पनि विवाहित । उनी उति सारो रूपवती पनि थिइनन् । न कुनै अद्भूत क्षमताकी थिइन् ।

४० कटेकी वालिस पारपाचुके गरेर अमेरिकी व्यापारी अर्नेष्ट सिम्सनसँग दोस्रो विवाह गरी जीवन बिताइरहेकी थिइन् । जुन राजालाई पाउन दुनियाँका मै हुँ भन्ने युवतीहरू लालायित थिए तिनै राजा पारपाचुके गरी दोस्रोपटक विवाहित महिलाको प्रेममा चुर्लुम्म डुबे । एडवार्ड वालिसप्रति आशक्त हुनुको कारण प्रष्टाउँथे–मैंले जीवनमा देखेको सबैभन्दा आत्मनिर्भर महिला वालिस हुन् । एडवार्डले जीवनभर वालिसलाई साथ दिए । हृदयदेखि प्रेम गरेको प्रमाणित गरेर बिदा भए ।

गद्दी त्यागेको भोलिपल्ट ११ डिसेम्बर सन् १९३६ मा बीबीसी रेडियोमा एडवार्डले गद्दी छाडेको घोषणा सुनाए । रेडियो प्रसारणको छोटो भाषणमा उनले भने,‘ म जुन महिलालाई प्रेम गर्छु उनको प्रेमविना राजगद्दीको कठिन जिम्मेवारी पूरा गर्न सक्दिन ।’ उक्त घटना २० औं शताब्दीको महत्वपूर्ण घटनामा सूचिकृत भयो । प्रेमिकाका लागि सत्ता नै त्याग्ने सँसारका शक्तिशाली पुरूषमा गनिए । आफूले चालेको कदमप्रति कहिले पश्चात्ताप गरेनन् । जतिञ्जेल बाँचे त्यतिञ्जेल खुसी र सुखी ठाने । सार्वजनिक जीवनबाट टाढिएर पत्नी वालेससँग जीवन बिताए ।

एडवार्डसँग विवाह गर्न वालेसले दोस्रोपटक पारपाचुके गरिन् । उनी दोस्रो पति अर्नेष्टलाई मन नपराएर पारपाचुकेको निर्णयमा पुगेकी थिइनन् । एउटा राजाको आफूप्रतिको अगाध प्रेमको सम्मान गर्न चाहन्थिन् । एडवार्डले वालेसविना बाँच्न नसक्ने सुनाएका थिए । नारी मन न हो, पुरूषको हृदयदेखिको प्रेमले पग्लिइन् । एडवार्ड र वालेसले ३ जून सन् १९३७ मा फ्रान्समा पुगेर विवाह गरे ।



प्रतिक्रिया दिनुहोस्