Logo

पशु विज्ञानमा विद्यार्थीको आकर्षण



बागलुङ, २७ भदौ । आफ्नै गाउँमा पशु विज्ञान जस्तो व्यवहारिक विषय पढ्न पाउँदा कक्षा–९ का विद्यार्थी रोशन परियार खुसी छन् । उनलाई घर छेउकै विद्यालयमा प्राविधिक विषयको पढाइ शुरु भएपछि ‘एसइई’ दिइसकेका रोशन पुनः कक्षा ९ मा भर्ना गरेका छन् ।

ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयले प्राविधिक धारतर्फ पुश विज्ञान विषयको पढाइ शुरु गरेपछि विद्यार्थी आकर्षित भएका हुन् । प्राविधिक विषयमा भविष्य देखेका अभिभावकले पनि सोही विषय अध्ययनका लागि आफ्ना छोराछोरीलाई प्रेरित गर्न थालेका छन् ।

चालू शैक्षिकसत्रबाट शुरु भएको पशु विज्ञान विषयमा अहिले ३८ विद्यार्थी अध्ययनरत छन् । पचास जनाले आवेदन दिएकामा भर्नाका लागि जम्मा ४२ विद्यार्थी छनोट भएका थिए । कक्षा ९ देखि १२ सम्म पशु विज्ञान विषयको पढाइ हुने विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए ।

अनिवार्यतर्फ नेपाली, अङ्ग्रेजी, गणित र विज्ञानसँगै पशु स्वास्थ्य, पशु पोषण, कृषि प्रसार, कम्प्युटरलगायत विषयको पढाइ हुन्छ । कक्षा ९ र १० मा पशु रोग, उपचार र औषधिसम्बन्धी आधारभूत ज्ञान सिकाइन्छ । कक्षा ११ र १२ मा व्यावसायिक पशुपालन, विस्तार र व्यवस्थापनबारे पढाइ हुने गरेको छ ।

“शिक्षा मन्त्रालयमार्फत दुई शिक्षकको दरबन्दी स्वीकृत भइसकेको छ, पशु क्लिनिक र ल्याब सञ्चालनका लागि रु २६ लाख बजेट आएको छ”, प्रअ रोकाले भने । उनका अनुसार अभ्यासका लागि ल्याब, फिल्ड र पशु फार्म निर्माणको काम तत्काल अघि बढाइनेछ । प्राविधिक धारतर्फको पढाइ व्यवस्थापन र सिकाइमैत्री वातावरणका लागि शिक्षक पनि क्रियाशील छन् ।

पशु विज्ञान विषयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको शिक्षक आभास श्रेष्ठले बताए । “विद्यार्थी पनि पढाइमा उत्साहित र जिज्ञासु छन्”, उनले भने । प्राविधिक विषय पढ्न अन्यत्र धाउनुपर्ने बाध्यता हटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले बताए  । “विद्यार्थीेले आत्मनिर्भर र स्वरोजगारमूलक शिक्षाको अवसर पाएका छन्”, उनले भने, “अब गाउँमै दक्ष पशु स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति तयार हुनेछ ।”

सो विषय अध्ययनका लागि पश्चिम ढोरपाटनदेखिसमेत विद्यार्थी आएका विद्यालयले जनाएको छ । विद्यार्थीले निःशुल्क पढ्न पाएका र पाठ्यपुस्तकसमेत विद्यालयले उपलब्ध गराएको अध्यक्ष खत्रीको भनाइ छ । ताराखोला गाउँपालिका कृषि र पशुपालनमा निर्भर भएकाले सम्बन्धित विषय पढाउँदा उपयोगी हुने देखेर विद्यालयले पशु विज्ञान विषयको पढाइ सञ्चालनका लागि गत वर्षदेखि नै पहल गर्दै आएको थियो ।

गत फागुनमा भएको विद्यालयको स्वर्ण जयन्ती उद्घाटनका क्रममा ताराखोला आउनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पशु विज्ञान विषयको पढाइ सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल माविसँगै निसीखोला गाउँपालिका–५ स्थित ज्ञानेन्द्र माविमा पनि यसै शैक्षिकसत्रदेखि पशु विज्ञान विषयको पढाइ शुरु भएको छ ।

सरकारले विसं २०७० देखि सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा लागू गरेको थियो । हाल देशका ४३३ विद्यालयमा प्राविधिक धारतर्फ पशु विज्ञान, सिभिल इञ्जिनीयरिङ, इलेक्ट्रिक इञ्जिनीयरिङ, कम्प्युटर इञ्जिनीयरिङलगायतका विषयको पढाइ हुँदै आएको छ । – रासस



प्रतिक्रिया दिनुहोस्