Logo

उपभोक्तालाई मारमा पारी आयल निगम अरबौं नाफामा



रिपोर्टर्स नेपाल विशेष । अहिले विश्व बजारमा तेलको प्रति ब्यारल मूल्य ६० डलर भन्दा कम भइसकेको छ । यसअघि प्रति ब्यारल ७५ डलरभन्दा माथि मूल्य रहेकोमा गिरावट आएपनि नेपाली बजारमा विश्व बजारमा मूल्य घटेको अनुपातमा समायोजन भएको छैन ।

प्रति ब्यारल १५ डलरभन्दा कम मूल्य घटेपनि नेपाली उपभोक्ताले त्यसको लाभ लिन सकेका छैनन् । नेपाल आयल निगमले मोतीहारी-अमखेलगञ्ज तेल पाइपलाइनको संचालनपछि पेट्रोल र डिजेलमा प्रति लिटर दुई रुपैयाँका दरले मूल्य घटाएको थियो । पाइपलाइन देखाएर मूल्य घटाइएको देखाएपनि अन्तर्राष्ट्रिय बजारमा यति धेरै मूल्य घट्दा पनि निगमले जति घटाउनुपर्ने त्यति मूल्य घटाएको छैन ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोयल निगम नाफामा रहेको बताउँछन् । आफू काठमाडौं बाहिर रहेकाले कति नाफामा छ भन्नेबारे जानकारी दिन नसक्ने बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको गिरावटका बाबजुद निगमले निकै कममात्र मूल्य घटाएकाले मासिक अरबको हाराहारीमा नाफा गरिरहेको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ र पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ तोकिएको छ । खाना पकाउने एलपीजी ग्याँसको मूल्य १३ सय ७५ छ । पेट्रोलियम पद्धार्थको मूल्य मङ्गलबारय बजारमा समायोजन गरेर यस वषकै न्यूनतम मूल्यमा पुगेको छ । तर, निगमले जसरी बढेको अनुपातमा बढाएको थियो त्यो अनुपातमा घटाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिब्यारल ७५ डलरभन्दा माथि पुग्दा पेट्रोल प्रतिलिटर १११.५० रुपैयाँ र डिजेल एक सय रुपैयाँ सम्म तोकिएको थियो । अहिले विश्व बजारमा झण्डै २० डलर प्रतिब्यारल घट्दा पेट्रोल प्रतिलिटर ४.५० रुपैयाँ र डिजेल मात्र पाँच रुपैयाँ घटेको छ । बढ्दाको अनुपातमा नघटाएपछि आयल निगम निकै नाफामा पुगेको छ । निगमका प्रवक्ता गोयल नाफामा रहेको बताउँछन् ।

नेपाली बजारमा डिजेल प्रतिदिन सरदर पाँच लाख लिटर र पेट्रोल प्रतिदिन १५ लाख लिटर खपत हुन्छ । खपत अनुसार निगमलाई दैनिक करोडौं नाफा छ । महिनाको अरब नाफामा रहेको निगमले उपभोक्ताको ढाड सेकेर लाभ लिइरहेको छ । निगमले यसरी नै नाफा बढाएर कर्मचारीलाई बोनस बाँड्न खोज्दा विवादमा पर्ने गरेको छ । मूल्य समायोजनको वैज्ञानिक नीति ल्याइएको भनेपनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने गरिएको तर घट्दा निकै कम घटाउने गरेको छ । निगमलाई सेवामूलक भन्दा नाफामूलक संस्था बनाएर सर्वसाधारणलाई मारमा पार्ने गतिविधि हुँदै आएको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दै गएपछि तेल उत्पादक देशहरुको संस्था ओपेकले उत्पादन घटाउने कसरत गर्न थालेको छ। तेलको उत्पादन बढाइरहेका इराक र नाइजेरियामाथि घटाउन दबाब बढाएका छन् । साउदी अरेयिबा ओपेकमा निर्णायक छ । उसको कदमले तेलको मूल्यमा असर पार्दछ ।



प्रतिक्रिया दिनुहोस्