Logo

ट्वीन टावर हमलामा सघाउने साउदी ‘राजपरिवारका सदस्य’ को हुन्



सन् २००१ को सेप्टेम्बर ११ मा विश्व इतिहासमा खतरनाक आतंकवादी हमला भयो ।अमेरिकाको न्युयोर्कस्थित विश्व व्यापार संगठनको जुम्ल्याहा भवनमा अपहरण गरिएका दुईवटा विमान पालैपालो ठोक्काइएको थियो ।

अन्तराष्ट्रिय आतंकवादी संगठन अलकायदाले जिम्मेवारी लिएको घटनामा झण्डै तीन हजार मानिस मारिए । अमेरिकाले ठूलो क्षति व्यहोर्यो । घटनामा योजनावद्ध तरिकाले पाइलट तालिम गर्न पठाइएका युवकहरुको संलग्नता पाइयो । उनीहरुले आत्मघाती हमला गरेका थिए । युवकहरुमध्ये अधिकांश साउदी नागरिक थिए ।

हमलामा अल कायदाको मात्र नभई साउदी अरेबियाको संलग्नताबारे समेत छानविन गरियो । अलकायदा नेता विन लादेन साउदी अरेबियाका नागरिक हुनुले मात्र त्यसो गरिएको होइन । साउदी अधिकारीहरु समेत घटनामा जोडिएको विषय बाहिर आयो । ती अधिकारीबारे अहिलेसम्म कुनै खुलासा भएको छैन । तर, अब अमेरिकाको अनुसन्धान निकाय एफबिआईले ती नामको खुलासा गर्ने भएको छ । दुई अधिकारीको नाम खुलिसकेको अवस्थामा अर्का अधिकारी ठूलै ओहदाको भएको हल्ला चलेको छ । ती व्यक्ति साउदी राजपरिवारका सदस्य हुनसक्ने हल्ला चलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकाको न्यायिक निकाय र एफबिआईले नाम कहिले सार्वजनिक गर्ने नभनेपनि निर्णय गरिसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । त्यो नाम सर्वप्रथम अदालतमा पुग्नेछ र त्यसपछि ज्यान गुमाएका मानिसहरुको परिवारमा पुग्नेछ । ती व्यक्ति साउदी राजपरिवारको सदस्य हुन् भने त्यसले साउदी अरेबियालाई ठूलो झड्का पर्न सक्छ ।

पीडित परिवारहरुकै माग बमोजिम नाम खुलासा गर्न दबाब परेको हो । यसअघि दुईजनाको नाम खुलिसकेको छ । जसमध्ये फहद अल थुमेरी र ओमार अल बयोमी छन् । उनीहरुल त्यतिबेला अमेरिकास्थित साउदी दूतावासमा कार्यरत थिए ।

साउदी अरेबियाको सरकारी अधिकारी घटनामा जोडिएको भनिएको छ । घटनामा संलग्न १९ जना आत्मघातीहरुमध्ये १५ जना साउदी नागरिक थिए । हमलाका लागि साउदीबाट सहयोग पुगेको विषय पनि नआएको होइन । साउदी गुप्तचर अधिकारीबाट सहयोग पुगेको विषय चर्चामा आयो । घटनामा ठूलो धनराशी खर्च भएको खुलिसकेको छ । योजनाहरुबारे धेरै तथ्य बाहिर आएपनि मुख्य योजनाकारबारे अझै जानकारी बाहिर आउन सकेको छैन ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्