Logo

ओलीको आडमा भण्डारीको दादागिरी



काठमाडौं, २७ भदौ । नेपाल स्काउट तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी पछिल्लो समय विवादित बनेका छन् । भण्डारी एकपछि अर्को गर्दै गलत र आर्थिक अनियमिततामा फस्दै हिँडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीपनि उनीसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीकै आशिर्वादका कारण उनले स्काउटको तदर्थ समितिको संयोजकमा बाजी मारेका हुन् । तर, जुन विश्वास र भरोशाका साथ उनलाई जिम्मेवारी सुम्पिईएको थियो, उनी त्यसमा चुकेको स्काउटकै पदाधिकारीहरुको टिप्पणी छ ।

स्काउट स्रोतका अनुसार भण्डारीले एक महिना अघिमात्रै पनि ३५ जनाको जम्बो टोली अमेरिका लगेको र तीमध्ये एक दर्जन उतै लुकेर बसेका छन् । भण्डारीमाथि ठूलो रकम असुली स्काउटका नाममा ‘नन–स्काउट’ हरुलाई अमेरिका पुर्याएको पनि आरोप छ । तर, भण्डारी भने यो आरोपमा कुनै सत्यता नभएको दाबी गर्छन् ।

उनले आफू संयोजकको जिम्मेवारीमा आउनुभन्दा अघि नै अमेरिकामा हुने कार्यक्रममा भाग लिन जाने स्काउटहरुको नाम तय भैसकेको दाबी गरे । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘अमेरिकामा भएको उक्त वल्र्ड स्काउटमा जान म आउनुभन्दा अघि नै सबै निधो भएको थियो । यो कार्यक्रम अमेरिकाको वेष्ट भर्जिनियामा भएको हो । त्यतिवेला ३५ जना गएका थियौं । कार्यक्रममा जाने सबै फर्किएका छन् ।’

उनकाअनुसार अमेरिकामा भएको कार्यक्रममा जाने स्काउटहरुको नाम भने विभिन्न स्कुलबाट छनौट गरिएको थियो । उनले भने,‘म संयोजक हुनुभन्दा अघि नै त्यहाँ जानेहरुको नाम तय गरिएको थियो । कार्यक्रममा जाने सबैको रजिष्टर म आउनुपुर्व नै भैसकेको थियो । उता वल्र्ड स्काउटले नै निमन्त्रणा पठाईसकेको थियो । मेरो लिडरसिपमा जाम्बोरी गएको हो ।’

सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारीसहित भण्डारीलाई संयोजक बनाएको थियो । उनी संयोजक हुनुभन्दापनि पहिले पनि स्काउट ६ महिनादेखि नेतृत्व विहीन थियो । युवा तथा खेलकुद मन्त्रालयले भण्डारीको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । उनले २०७५ पुस २४ गते नै पद तथा गोपनियताको सपथ लिएका थिए ।

भण्डारी संयोजकको जिम्मेवारी सम्हाल्नुअघि स्काउटको सचिवको जिम्मेवारीमा थिए । तदर्थ समितिमा कास्कीका शिवबहादुर भण्डारी, भक्तपुरका बिजेन्द्र ध्वजु, सर्लाहीका इन्द्रभुषण अधिकारी र धनुषाकी सीमा कर्ण छन् । भण्डारी संयोजक भएको ८ महिना बितिसक्यो । तदर्थ समितिलाई ६ महिनाभित्र ऐन संशोधन गरी निर्वाचन गराउने जिम्मेवारी दिइएको थियो तर, अहिलेसम्म उनले त्यसतर्फ कुनै कदम चालेको देखिएको छैन् । स्काउटको ऐन संशोधन नभएका कारण लामो समयदेखि निर्वाचन हुन सकेको छैन ।

जेभियर ईन्टरनेश्नल स्कुलका सञ्चालक समेत रहेका भण्डारीको स्काउटमा आवद्धता यसको सुधार र वृद्धिविकास भन्दापनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नु नै मुख्य रहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा स्काउटभित्र भण्डारीले दादागिरी देखाउने गरेको पनि आरोप लागेको छ ।

स्काउटमा सचिवको रुपमा काम गर्दा पनि उनले प्रशासनिक र आर्थिृक पाटो बढि हेर्दथे । स्काउटभित्र उनको अहिले हालीमुहाली छ । आफू नेतृत्वमा आएपछि उनले स्काउटका नाममा रहेका त्यहाँका भवन तथा सटरबाट चेक कारोबार नगरी नगदमा भाडा बुझन थालिएको पनि गुनासो छ । नेकपाको सरकार आएपछि प्रधानमन्त्री ओली र युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाइ प्रभावमा पारेर उनले संयोजकमा बाजी मारे । मुख्य काममा ध्यान केन्द्रित हुनुभन्दापनि उनको ध्येय आर्थिक कारोबारमा नै बढि छ । अहिलेपनि स्काउट मुख्यालय लैनचोरमा २२ लाख बहाल उठ्छ । आफूले भनेबमोजिम नगरे भाडा सम्झौता रद्द गरिदिनेपनि उनले चेतावनी दिने गरेको त्यहाँ बस्ने व्यवसायीहरुको गुनासो छ । त्यस्तै, उनले बहाल रकममा बार्गेनिङ गर्ने गरेको पनि बुझिएको छ ।

यो त काठमाडौं मुख्यालय रहेको लैनचौरको दुर्दशा । यस्तै अवस्था उनले देशभरिका स्काउटमा गरेको खुल्न आएको छ । एक महिना अघि ३५ जना गैर स्काउटरियनहरुलाई अमेरिकाको जम्बोरीमा जनही २५ देखि ३० लाख लिएर उनले मानव तस्करी गरेको पनि दाबी गरिएको छ । स्रोतले भन्यो,‘अमेरिका गएकाहरु नन स्काउटहरु थिए । सामाजिक अभियान सञ्चालन गर्न भन्दापनि भण्डारी अहिले व्यक्तिगत लाभ लिन बढि तल्लिन छन् ।’

स्काउट परिसरमा भडामा बसेको व्यापारीलाई दुःख दिने, कहिले पार्किङ दिन्न भनेर धम्क्याउने पनि गरेका छन् ।’ निश्चित सम्झौता गरेर भाडामा बसेकाहरुभन्दा बढि रकम दिनेलाई नै मिलाईदिन्छु भन्दै पूरानालाई खाली गराईदिन्छु भनेर चेतावनी दिने गरेको पनि खुल्न आएको छ । भण्डारीको कार्यशैलीलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा समेत विरोध सुरु भएको छ ।

बालबालिका, युवालाई शारीरिक, मानसिक, बौद्धिक विकासमार्फत अनुशासित र स्वावलम्बी नागरिक उत्पादन गर्ने मानव सेवामुखी लक्ष्य लिएको संस्थाको जिम्मेवार व्यक्ति नै आज गलत र आर्थिक अनियमिततामा केन्द्रित हुनु दुःखद हो ।



प्रतिक्रिया दिनुहोस्