Logo

सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने काङ्ग्रेसको चेतावनी



काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको साङ्घातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रुपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– ३ को प्रदेशसभा ‘ख’को खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा काङ्ग्रेसको कार्यक्रम भइरहँदा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकर्ताले साङ्घातिक हमला गरेको काङ्ग्रेसले आरोप लगाएको छ ।

आक्रमणबाट काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिनुका साथै केही कार्यकर्ता घाइते भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र स्थानीय प्रशासनसमेत संवेदनशील नहुनुलाई काङ्ग्रेसले सुनियोजित एवम अत्यन्त गम्भीर घटनाको रुपमा लिएको उनले बताए ।

राजनीतिक दलले साङ्गठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि आक्रमण गरिएको काङ्ग्रेसको आरोप छ । बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध काङ्ग्रेसले गरेको कार्यक्रममा उर्लदो जनलहर र जनसहभागिता देखेर सत्ता पक्षका कार्यकर्ता अत्तालिएको प्रवक्ता शर्माले आरोप लगाए ।

काठमाडौँ, ललितपुर र भक्तपुरका काङ्ग्रेस जिल्ला सभापतिको अगुवाइमा शनिबार गृहमन्त्रीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने प्रवक्ता शर्माले जानकारी दिए। पत्रकार सम्मेलनमा काङ्ग्रेस ललितपुरका सभापति मदन आमात्यले जिल्ला सभापति सुरक्षित हुँदैनन् भने सर्वसाधारण कसरी सुरक्षित होलान भनी सरकारसँग प्रश्न गरे ।

उनले जिल्ला सभापति कोइरालामाथि आक्रमण हुँदा सरकारी संयन्त्र मौन रहनु प्रजातन्त्रका लागि खतरा भएको भन्दै चिन्ता व्यक्त गरे। काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ ९सबुज०ले घटनाको ७७ जिल्लाकै पार्टी समितिले विरोध गरेको बताए। उनले दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरे। उक्त घट्नाको देशव्यापी रुपमा साङ्केतिक विरोधस्वरुप शनिबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरिने बानियाँले बताए।

यस्तै काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सो घटना लोकतन्त्रमाथिको आक्रमण भएको बताए। बाँके घटनाका बारेमा बुझ्न काङ्ग्रेस सभापति शेरबहादुर देउवा शनिबार नेपालगन्ज जाने शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्