Logo

गुण्डागर्दीलाई राजनीतिक संरक्षण !



काठमाण्डौ । नेपालमा हुने गुण्डागर्दी राजनीतिक संरक्षणमा हुने गरेको आरोप लाग्दै आएको छ । चुनावका बेला गुण्डागर्दी गर्नेहरुको सहयोग लिने गरेका नेताहरु अरु बेला फिरौति र असुलीलाई प्रश्रय दिने गर्दछन् ।

पछिल्लो समय चर्चा रहेको विषय हो गृहमन्त्री रामबहादुर थापाकै भाइ नरेश थापा पक्राउ । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेपछि अवैध असुलीमा राजनीतिक संरक्षण मौलाएको हो कि भन्ने संकेत देखिएको छ ।

नरेश थापा गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २ वर्षअघि हत्या भयो । घटनाका मुख्य दोषि समीरमान बस्नेतले सुन्धारास्थित केन्द्रीय कारागारको थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना केन्द्रिय अनुसन्धान व्यूरोले पयो ।

सीआईबीले उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो । पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको ‘कल डिटेल रेकर्ड’ समेत झिकाएर अनुसन्धान गरेको थियो ।

गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदानप्रदान भएको फेला परेको थियो । मन्त्रीका भाईनै प्रक्राउ पर्नु भनेको मुलुकको लागि लजास्पद मात्र नभई दुर्भाग्य भएको प्रहरीको पुर्व उच्च अधिकारीहरु बताउंछन् । जुन व्यक्तीबाट शान्ती सुरक्षाको नागरिकले आशा गरेको हुन्छ त्यही व्यक्तिको पारिवारिक सदस्य अपराधमा संलग्न हुनुले स्वभाविक रुपमै गलत सन्देश जाने पुर्व डिआईजी केशब अधिकारी बताउँछन् ।

राजनीतीक दलहरुले गुण्डाहरुलाई आश्रय दिने, आर्थिक कारोबार गर्ने र आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति परम्पारगत जस्नै बनेको अधिकारीको तर्क छ ।

गृहमन्त्रीकै भाइ गुण्डागर्दीमा संलग्न हुनुलाई राजनीतिक संरक्षण भन्न त मिल्ला, तर उनै भाइ पक्राउ पर्नुले गृहमन्त्री रामबहादुर थापाले जोकोही गलत गर्नेलाई पनि छाड्दैनन् भन्ने सन्देश पनि गएको छ ।

तर विगतदेखि नै अपराध गरेको आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाए पनि राजनीतिक संरक्षणका कारण गुण्डाहरुले उन्मुक्ति पाउने भएकाले प्रहरीले इन्काउण्टर नै गरेको विश्लेषण पनि हुने गरेको छ । तसर्थ जनताको हितमा काम गर्छु भन्ने दल र तिनका नेताहरुले गुण्डागर्दीलाई प्रश्रय दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्