Logo

गीतकार खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ गीतको म्युजिक–भिडियो विमोचन (भिडियोसहित)



 

काठमाडौं, २८ भदौ । गीतकार गोपाल पी. खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ नामक नयाँ गीतको म्युजिक–भिडियो आज सार्वजनिक भएको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा एक समारोहकाबीच बरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्रा.डा. गोविन्दराज पोखरेल, प्राध्यापक डा. गोविन्द प्रसाद आचार्य, संगितकार वसन्त सापकोटा र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा उक्त म्युजिक–भिडियोको विमोचन गरिएको हो । उक्त म्युजिक भिडियोको उत्पादन आश्रम म्युजिक सेन्टरले गरेको हो भने गीतलाई ‘हाईलाईट्स नेपाल’ नामक युट्युव च्यानलमार्फत बजारमा ल्याईएको हो ।

कमल किरणको स्वर रहेको उक्त गीतमा वसन्त सापकोटाले संगित भरेका छन् । त्यस्तै, गीतको एरेन्ज भने प्रदीप श्रेष्ठले गरेका हुन् । गीतमा कोरियोग्राफी भने केशु पुनले गरेकी हुन् । भिडियोको सम्पादन नवीन घर्तीमगरले गरेका हुन भने निर्देशन हेमराज आश्रम र सह–निर्देशन आश्रम म्युजिकको रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापाले पछिल्लो समय राष्ट्रिय गीत–संगितको लेखन तथा निर्माण हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । तर, यस्तो अवस्थामा गीतकार खनालले युवा पुस्तालाई राष्ट्रिय गिततर्फ आकर्षित गर्नेगरि काम गरेकोमा भने उनले खुशी व्यक्त गरे ।

उनले भने,‘कतिपय गीतमा लय मिलेका हुँदैनन् । कतिपयमा भाव पाईँदैन् । यस सन्दर्भमा राष्ट्र र राष्ट्रियता, देशप्रेममा आधारित यस्तो गीतले ठूलो महत्व राख्दछ ।’ उनले आगामी दिनमा पनि गीतकारहरुले यसतर्फ ध्यान दिनुपर्ने र समाजपनि सोहीअनुसार परिलक्षित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्रा.डा. गोविन्दराज पोख्रेलले राष्ट्रिय एकता बलियो बनाउने गीत बनेको भन्दै बधाई दिए । उनले भने,‘गीतमा राष्ट्र र राष्ट्रियताप्रति वजनदार शब्द प्रयोग भएका छन् । यसले हामी सबैको मन छुन्छ । राष्ट्रिय एकता जगाउने खालको गीत छ । धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।’

उनले रिभोल्युसनले भन्दापनि यस्तै गीत–संगित ईभोल्युसनमार्फत मुलुकलाई समृद्धितर्फ लैजान सकिने विश्वास दिलाए । त्यस्तै, उनले उक्त गीतले युवाहरुलाई एकतामा बाँध्ने काम गरेको र युवाहरुलाई नयाँ बाटो देखाएको पनि बताए ।

उनले नेपाल पर्यटकीय देश भएकोले पनि पर्यटन प्रर्वद्धनको लागि पनि गीत कोशेढुंगा सावित भएको सुनाए । उनले गीतकार खनाललाई बधाई दिँदै आगामी दिनमा यस्तै गीत रचना गर्न शुभकामना दिए ।

कार्यक्रममा प्राध्यापक गोविन्द प्रसाद आचार्यले गीतको समिक्षा गरेका थिए । उनले गीतले राष्ट्रको यथार्थता बोकेको टिप्पणी गरे । उनले भने,‘चन्द्र, सुर्य अंकित झण्डा, गौतम बुद्ध, लालिगुराँस र सगरमाथाको शीरजस्ता राष्ट्रका विविध आयामहरुलाई समेटेर यो गीत तयार भएको छ । गीतले साँच्चिकै राष्ट्रिय एकता र सहिष्णुताको प्रर्वद्धन गर्नेतर्फ परिलक्षित गरेको छ ।’

पत्रकार ऋषि धमलाले पनि उक्त गीतको मुक्तकण्ठले प्रशंसाा गरे । धेरैपछि राम्रो गीत आएको भन्दै आगामी दिनमा पनि यस्तै खाले गीत बनाउन खनाललाई सुझाए ।

उनले भने,‘खनालजीका गीतले राष्ट्रिय एकता र स्वाभिमानलाई उँचो राख्ने काम गरेका छन् । म त उहाँको ठूलो शुभचिन्तक हुँ । आगामी दिनमा पनि उहाँका कलमहरु यसरी नै चलुन् ।’ उनले गीतलाई आम श्रोता तथा दर्शकमाँझ पुर्याउनको लगि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, कार्यक्रममा संगितकार वसन्त सापकोटाले गीतकार खनालको गीत–संगितप्रतिको लगावको बारेमा प्रकाश पार्दै कुनैपनि काममा आवद्ध भएपछि त्यसलाई फत्ते नगरेसम्म अहोरात्र खटिरहने स्वभाव निरन्तर कायम रहोस भन्ने शुभकामना दिए ।

त्यस्तै, गीत अत्यन्तै राम्रो बनेको भन्दै यसलाई सबैले माया गर्नुपर्ने सुझाए । उनले भने,‘यो गीत राष्ट्रिय एकताको प्रतिक हो, यसलाई माया गर्नुपर्छ ।’कार्यक्रमको उद्धघोषण सावित्रा पाण्डेले गरेकी थिईन् भने कार्यक्रमको सभापतित्व गीतकार खनालले गरेका थिए ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला :

 



प्रतिक्रिया दिनुहोस्