Logo

प्रचण्डलाई प्रधानमन्त्री पदको छटपटी



काठमाडौं, भदौ २८ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको विषय फेरि उप्काए । उनले आज यो प्रसंग उठाउँदै सहमति नयाँ तरिकाले लागू गर्न पनि सकिने बताए ।

इलाम पुगेका प्रचण्डले कम्युनष्टि आन्दोलनका लागि आफूले त्याग गरेको बताए । आफूले धेरै प्रधानमन्त्री बनाइसकेको भन्दै विगतमा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिबारे नयाँ तरिकाले पनि जान सकिने बताए । ‘सहमतिबारे नयाँ तरिकाले जान पनि सकिन्छ,’ प्रचण्डले भने । आफूले चाहेको भए पाँच वर्षका लागि प्रधानमन्त्री बन्न सक्ने अवस्था हुँदाहुँदै कम्युनिष्ट आन्दोलनका लागि त्याग गरेको जिकिर गरे ।

दुई पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले पार्टी एकीकरण गर्दा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग आलोपाला आधा आधार अवधि सरकार चलाउने सहमति गरेको विषयको खुलासा गरिसकेका छन् । यो खुलासाले नेकपाभित्र र बाहिर तरंग आइरहँदा प्रचण्डले फेरि विगतको सहमतिमा नयाँ तरिकाले जान सकिने बताए । उनले पाँच वर्ष नेकपाको सरकार सशक्त ढंगले संचालन गर्न सहमतिबारे नयाँ ढंगले जान सकिने विषयलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डलाई पछिल्लो समय प्रधानमन्त्री बन्ने छटपटी बढिरहेको छ । उनले जतिसुकै प्रधानमन्त्री बन्न आतुरता नदेखाएको भनेपनि विगतको सहमतिबारे बारम्बार खुलाउने गरेका छन् । आधा आधा सरकार संचालनमा नयाँ सहमति गरेर बढ्न सकिने अभिव्यक्तिलाई उनको प्रधानमन्त्री बन्ने हतारोकै रुपमा लिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्