Logo

जेलमै बसेर गृहमन्त्री र आइजीपीको कुर्सी हल्लाउने डन



रिपोर्टर्स नेपाल खोज । नेपालमा एकजना कुख्यात डन सुन्धारास्थित कारागारमा छन् । उनीमाथि निर्माण व्यवसायी शरद गौचन हत्याको अभियोग छ । ती हुन् समिरमान सिंह बस्नेत ।

बस्नेतले हाइप्रोफाइल हत्याको योजना बनाएको खुलासा भइसकेको छ । प्रहरी प्रशासन देखि राजनीतिक दलका नेतालाई समेत प्रभावित बनाउन सक्ने बस्नेतले यसपटक ठूलै योजना बनाए । उनको योजना गृहमन्त्री रामबहादुर थापा बादल र आइजीपी सर्वेन्द्र खनाललाई पदबाट हटाउने थियो । त्यसका लागि उनले विभिन्न प्रयोगहरु गरिसकेका छन् ।

हाइप्रोफाइल हत्या गरेर आइजीपी खनाललाई पदबाट हटाउने गत वर्षको एउटा खतरनाक योजना पत्ता लाग्दा प्रहरीका केही अधिकृतहरु समेतको संलग्नताको विषय उठ्यो । ती प्रहरी अधिकृतहरुमाथि कारबाही समेत भयो । उक्त योजनामा जेलभित्र रहेका समिरमान सिंह बस्नेतलाई प्रयोग गरिएको थियो । तर, असफल पारियो ।

एकपछि अर्को षड्यन्त्र असफल भएपछि यसपटक गृहमन्त्री बादल र आइजीपी सर्वेन्द्र खनालमाथि एकैपटक प्रहार गर्न खोजियो । त्यस योजनामा गृहमन्त्री बादलका आफ्नै भाई नरेश थापा प्रयोग गरिए । थापालाई प्रभावमा पारी फिरौती रकम असुल्ने योजना बुनिएको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज २०७४ मा बानेश्वरको शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या भएको घटनामा समिरमान सिंह बस्नेत मुख्य योजनाकार मध्येका थिए । पक्राउ परेका बस्नेतले कारागारभित्रैबाट योजना बनाए । योजनामुताबिक व्यापारीलाई छानी छानी तारोमा पार्ने र त्यसमा गृहमन्त्रीका भाई नरेश थापालाई प्रयोग गर्न खोजे । नरेशमार्फत् गृहमन्त्री बादललाई दबाबमा पार्ने र आइजीपी खनालसमेतलाई फसाएर कुर्सीबाट हटाउने योजना अन्तत असफल भयो ।

गम्भीर योजनामा फसिसकेका भाई नरेश थापालाई पक्राउ गर्न गृहमन्त्रीले कडा आदेश दिएको विश्वस्त स्रोतले बताएको छ । यसअघि समिरमानसिंह बस्नेत निकट केही प्रहरी अधिकृतहरुको गम्भीर षड्यन्त्रको प्रमाण समेत गृहमन्त्रीको टेबुलमा पुगेको थियो । अहिले त्यसरी नै बस्नेतलाई प्रयोग गरी केही व्यक्तिले बनाएको योजना बादलको कुर्सीमा पुग्दा उनी आक्रोशित बनेका थिए । उनले सिधै नरेश थापालाई पक्राउ गर्न भनेका थिए । यो घटनामा नरेश पक्राउ नपरेको भए बादल बदनाम बनाइन्थे । त्यसको असर गृहमन्त्री र आइजीपीको कुर्सी समेतमा पर्न सक्थ्यो ।

यसअघि, समिर बस्नेतले संगठित आपराधिक समूहको मिलेमतोमा राजधानीमा ‛हाइ प्रोफाइल’ हत्या योजना बुनेका थिए । जेलमा रहेका आपराधिक गिरोहका सदस्यहरुलाई प्रयोग गरी पेशेवर हत्यारामार्फत् गर्न लागिएको हत्या योजना समयमै प्रहरीले फेला पारेका कारण मात्र उनीहरूको ज्यान जोगिएको थियो ।-Photo File



प्रतिक्रिया दिनुहोस्