Logo

‘चीन र पाकिस्तानले नेपालमा कुटनीतिक तोडमोड गरेर सफलता हासिल गरिरहेका छन्’



काठमाडौं, भदौ २९ । भारतका एकजना कुटनीतिक मामलाका जानकारले चीन र पाकिस्तानले नेपालमा कम सहयोग गर्नाका बबाजुद आफू अनुकूलको कुटनीतिक तोडमोड गरेर सफलता हासिल गरिरहेको टिप्पणी गरेका छन् । भारतको कुटनीतिक र प्रतिरक्षासम्बन्धि अध्ययन गर्दै आएको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनालिसिसका सिनियर फेलो निहार नायकले चीन र पाकिस्तानले नेपालको मामलामा हासिल गरिरहेको सफलता नेपालको हितमा नहुने समेत बताएका छन् ।

‘नेपाललाई बढी सहयोग गर्ने देशहरुको सूचीमा चीन पछाडि छ तर उसले काठमाडौंमा कुटनीतिक मेनुपुलेसनमा सफलता हासिल गरिरहेको छ,’ नायकले भने, ‘यो नेपालको कमजोर परराष्ट्रनीतिको परिणती हो जसले नेपालको हित गर्दैन । पाकिस्तानले नेपालमा कम लगानीमै नेपालमा कुटनीतिक मेनुपुलेसनमा धेरै ठूलो सफलता हासिल गरिरहेको टिप्पणी गरे । पाकिस्तानप्रति कतिपय नेपालीमा धेरै सद्भाव देखेको समेत बताए ।

शनिबार नीति अनुसन्धान प्रतिष्ठान नेपाल र द्वन्द्व व्यवस्थापन अध्ययन केन्द्रले नेपालको परराष्ट्रनीति विषयक अन्र्तक्रियामा उनले संविधान निर्माणपछि नेपालले लिएको परराष्ट्र नीति कमजोर र उद्देश्य हासिल गर्न नसक्ने अवस्थामा रहेको बताए । नेपालले भारतलाई दूरीमा राखेर चीनसँग बढी निकटता बढाउन खोज्नुलाई अप्राकृतिक भने ।

भारतसँग सांस्कृतिक र भौगोलिक निकटता रहँदा रहँदै पनि नेपालमा भइरहेको कुटनीतिक मेनुपुलेसन नेपालको हितमा नहुने उनको तर्क थियो । उनले प्रश्न गरे, भारतसँग कृत्तिम दूरी राखेर नेपालको कसरी हित हुन्छ ? जबकि भारतसँग नेपालको खुल्ला सीमा देखि विशेष सांस्कृतिक सम्बन्ध छ । समदूरीको विषय राजा महेन्द्र देखि अहिलेको सरकारसम्मले उठाएको उल्लेख गर्दै यसलाई कृत्तिम दूरी राख्न खोज्ने अप्राकृतिक विषय भने । उनले भने, यो प्राकृतिक होइन र तत्काल भेटिने मित्रसँग कृत्तिम दूरी राख्न खोजिएको छ ।

नेपालको भारतसँगको सम्बन्ध अन्य कुनैपनि देशसँग तुलनायोग्य नभएको बताए । भारतले नेपाललाई सबैभन्दा नजिकको मित्रका रुपमा व्यवहार गरेको भन्दै भारतीय लगानी देखि सहयोगको तथ्यांक प्रस्तुत गरे । उनले भने, नेपाललाई बढी सहयोग गर्ने देशहरुको सूचीमा पहिलोमा बेलायत, दोस्रोमा अमेरिका, तेस्रोमा भारत र चौंथोमा जापान छ । यो अवस्थामा चीनसँगको जस्तो तुलनायोग्य छैन ।
नेपालले विश्व राजनीतिमा आफूलाई बलियो रुपमा उभ्याउने परराष्ट्रनीति अबलम्बन गर्ने नीति लिन खोरिहेपनि आर्थिक प्रगति हासिल गर्न नसकिरहेको तथ्यांक प्रस्तुत गरे । विगतका तुलनामा विदेशी लगानी निकै कम आएको उनको भनाई थियो । नेपालले अबलम्बन गरेको परराष्ट्रनीतिले लाभ हासिल गर्न नसकिरहेको बताए ।

कार्यक्रममा पूर्व रथी बालानन्द शर्माले नेपालको परराष्ट्रनीति भूगोल, इतिहास देखि भविष्यको बाटोसम्मलाई मध्यनजर गरेर चल्नुपर्नेमा जोड दिए । पछाडि फर्कने बाटो नभएकाले अगाडि बढ्दा निकै सुझबुझका साथ चल्नुपर्ने बताए ।

कार्यक्रममा परराष्ट्र मामलाका जानकार श्रीकृष्ण अनिरुद्र गौतम, राम थपलिया, नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दिपक अधिकारीले सुझाव प्रस्तुत गरेका थिए । तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot