Logo

ओस्कार  र भारतीय फिल्म कलेजबीच पठन–पाठनमा सम्झौता



ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठन–पाठनमा सहकार्य गर्ने भएको छ । लामो समयदेखि फिल्म सम्बन्धि विभिन्न विधामा अध्यापन गराउँदै आएको ओस्कार कलेजले केही दिनअघि भारतको  ‘सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’, ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’ र ‘नेसनल स्कुल अफ ड्रामा’ का डिन तथा पदाधिकारीसँग भेटेर औपचारिक रुपमा सम्झौता गरेको हो ।

ओस्कार कलेजको तर्फबाट एकेडेमीक निर्देशक मनोज बाबु पन्त, एकेडेमीक कोअर्डिनेटर नव विजय श्रेष्ठ र साउन्ड फ्याकल्टीका आलोक तिवारीले तीनै संस्थाका पदाधिकारीसँग भेटेका हुन् । एकेडेमीक निर्देशक मनोज बाबु पन्तले भ्रमणको क्रममा एकेडेमीक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान–प्रदान गर्नेसम्म महत्त्वपूर्ण सम्झौताहरु भएको जनाएका छन् ।

पुनामा रहेको ‘फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’ र दिल्लीमा अवस्थित ‘नेसनल स्कुल अफ ड्रामा’ सरकारी कलेज हुन् । कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि श्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीहरुले बनाएका फिल्म पनि एक अर्काको देशमा देखाइने सम्झौता भएको छ ।

एकेडेमीक को–अर्डिनेटर नव विजय श्रेष्ठले आगामी दिनमा निर्देशन, स्क्रिप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकनमा विधामा शिक्षक साटासाट गर्ने सम्झौता भएको जनाएका छन् । ओस्कार कलेजले फिल्म पढाउन त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।



प्रतिक्रिया दिनुहोस्