Logo

शक्तिको आँडमा विमान डिले गराएपछि योगेशमाथि ज्ञानेन्द्र बने अराजक



समाचार विश्लेषण । शनिबार नेपालगञ्ज विमानस्थलमा एकैसाथ दुईवटा प्रवृत्ति छताछुल्ल भए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण काठमाडौं आउन लागेको विमान ढिलो भयो । मन्त्री भट्टराईको बोर्डिङ पर्खंदा ढिलाई भएको कारण भ्रष्टाचारविरुद्धको अभियन्ता ज्ञानेन्द्र शाही मन्त्री भट्टराईमाथि खनिए ।

मन्त्रीलाई गालीगलौज गरिएको दृश्य भिडियोमा कैद भयो । जुन सार्वजनिक पनि भयो । मन्त्री हाँसिमात्र राखे र पछि सामाजिक सञ्जालमार्फत् यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमा मागे । उनले पारसविरुद्धको हस्ताक्षर अभियानको विषय उठाएर आफूमाथि गालीगलौज गरिएको भने ।

विमानभित्र कुनैपनि यात्रुले अर्को यात्रुमाथि त्यस्तो व्यवहार गर्न मिल्दैन । विमानको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी कारबाही हुनसक्छ । तर, विमानभित्र मन्त्री भट्टराईविरुद्ध खनिनेहरुलाई यात्रा गर्न दिइयो । उनीहरुले कानुनविपरितको अभद्र व्यवहार गरेका थिए भने यात्रा गर्न दिनहुन्नथियो ।

अर्को विषय संसारभर कुनैपनि व्यक्तिविशेषका कारण विमानको उडानमा ढिलाई गर्न पाइँदैन । उडानको नियमविपरित यसो गरेमा कारबाही हुनसक्छ । शक्तिको आँडमा विमानलाई कुराइ राख्न पनि मिल्दैन । नेपालमा यस्तो प्रवृत्ति देखिदै आएको छ । सत्ता र शक्तिको आँडमा विमानलाई डिले गराउन जिम्मेवार पदमा रहेकाहरु पनि संलग्न छन् । अन्तर्राष्ट्रिय उडान डिले गराउँदा उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवले त्रिभुवन विमानस्थलमा खटिएकी थाइ एयरलाइन्सकी कर्मचारीको खप्की खाएका थिए । यसको भिडियो समेत सार्वजनिक भएको थियो ।

नेताहरुले विमान नै डिले गराउने देखि जथाभावी उडान भर्न लगाउने गतिविधि समेत नेपालमा चल्दै आएको छ । उडान जस्तो संवेदनशील विषयमा शक्ति प्रदर्शन गर्दा दुर्घटना भएको उदाहरणहरु पनि छन् । यसले देशको प्रतिष्ठामा समेत आँच पुगेको छ ।

उडानको नियम नेता देखि जनतासम्मले पालन नगर्दा नेपालीहरुप्रति विदेशीको दृष्टिकोण समेत नकारात्मक भएको छ । उडानको नियम पालना नगराएसम्म नेपालगञ्जमा घटेका जस्ता घटना घटिरहन्छन् । नियम सबैले पालना गर्नुपर्छ । जसले गर्दैन त्यसमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । सानालाई ऐन र ठूलालाई चैनको अवस्था रहनुहुन्न । अन्यथा अराजक गतिवधि गर्नेहरुका लागि मौका बनिरहन्छ ।



प्रतिक्रिया दिनुहोस्