Logo

‘काम नगर्ने मन्त्रीलाई हटाएर फ्रेश मन्त्री ल्याउछौं’ : मणि थापा



काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले सरकारमा भएका केही मन्त्रीहरुको प्रस्तुति र कार्यशैली त्यति राम्रो नभएको भनेर बाहिर टिकाटिप्पणी भएको कुरा सत्य भएको सुनाउँदै अब फ्रेश युवाहरुलाई मन्त्री बनाउने जनाए ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जनतासामू सर्भिस डेलिभरी हुनुपर्छ । त्यसको लागि मन्त्रिमण्डल पूनर्गठन गरेर पनि अघि बढ्नुपर्छ । पार्टीभित्र त्यो विषयमा पनि छलफल भैरहेको छ । केही मन्त्रीहरुको विरोध भएको छ । उनीहरुलाई परिवर्तन गर्नुपर्छ । पार्टीभित्र अब प्रमुख टास्कको रुपमा यो विषयमा पनि छलफल भैरहेको छ ।’ उनले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने जिकिर गरे । यद्धपी जति काम हुनुपर्नेथियो त्यति चाहीँ नभएको उनको पनि गुनासो थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको सुनाए । जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउने उनको विश्वास छ । त्यस्तै, उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न भैरहेको सुनाए । उनले भने,‘अहिलेपनि अराजकताका स्वर सुनिएका छन् । यी सबैलाई संविधानको भावानाअनुसार समझदारीमा ल्याउन आवश्यक छ ।’ विप्लव समूहसँग अघोषित रुपमा सरकारले वार्ता गरिरहेको थापाले जनाए । उनले भने,‘विप्लवसँग वार्ता गर्नुपर्छ भन्ने नै हाम्रो नीति हो । अघोषित रुपमा वार्ता भैरहेको छ ।’

त्यस्तै, उनले मुलुकमा भ्रष्टाचार मौलाएको भनेरपनि आवाज सुनिएको सुनाए । उनले भने,‘केही हदसम्म यो प्रवृत्ति देखिएको छ । हाम्रो पार्टी यो विषयमा गम्भिर छ । हामी भ्रष्टाचारमा शून्य सहनसिलता अपनाएर अघि बढिरहेका छौं ।’ उनले सरकार अब सही ट्रयाकमा अघि बढ्ने पनि स्पष्ट पारे ।

थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको सुनाए । उनले भने,‘जनताले आफूले भनेजस्तो अनुभुति गर्न नसकेको कुरा केही सत्य हो । तर, गणतन्त्रलाई असफल बनाउने कोशिश भैरहेको छ । गणतन्त्रको विकल्प छैन् । यसमा पनि केही कमिकमजोरीहरु छन् । भएका कमजोरीहरुलाई सुधार गरेर जानुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्