Logo

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच २ घण्टा छलफल, यस्तो भयो कुराकानी ?



काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको छलफलमा समसामयिक विषयमा समिक्षा भएको बालुवाटार स्रोतले जनाएको छ । काङ्ग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो । समसामयिक विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपाली काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताले भाँचेको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने, नागरिकताको विधेयकमा संविधानका धारा ६ उल्लेखानुसार जानुपर्ने विषय उठान भएको उनले सुनाए ।

नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने काङ्ग्रेसले धारणा राखेको प्रवक्ता शर्माले बताए । बैठकमा नेपाली काङ्ग्रेसबाट सभापति देउवा र वरिष्ठ नेता पोडेलसँगै महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत नेताहरु र नेकपाका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्ता ढकाल सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्