Logo

चीनसँग नजिकिने र अमेरिकासँग बार्गेनिङ पावर बढाउने प्रचण्ड रणनीति



समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीभित्र संयुक्त राज्य अमेरिकालाई हेर्ने दृष्टिकोणमा स्पष्ट मतभेद देखिएको छ । अमेरिकाको इन्डो प्यासिफिक रणनीतिविरुद्ध अध्यक्ष प्रचण्ड स्पष्ट रुपमा उभिएका छन् भने प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली मौन छन् । उनको मौनतालाई समर्थनको रुपमा लिइएको छ ।

अमेरिका भ्रमणका बेलामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटका क्रममा अमेरिकी विदेशमन्त्री माइकल पम्पिओले नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण केन्द्र बन्ने प्रेस विज्ञप्तिमार्फत् उल्लेख गरेबाट देशभित्र र बाहिर समेत तरंग आएको थियो । यसलाई नेपाल इन्डो प्यासिफिक रणनीतिमा सामेल भएको अर्थमा बुझिएको थियो । इन्डो प्यासिफिकमा रहेका देशहरुको सुरक्षासम्वद्ध अधिकारीहरुको बैठक काठमाडौंमा बसेको खुलासा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले गरिसकेका छन् । उनले यसप्रति गम्भीर प्रश्न समेत उठाए ।

अमेरिकी विदेशमन्त्रीसँग भेटेर उत्साही बनेका ज्ञवाली पछिल्लो समय नेपाल अब विश्व कुटनीतिक क्षेत्रमा पछाडि बसिनरहने बताएका छन् । नेपालको असंलग्न परराष्ट्रनीति रहेपनि चीनको पूर्वाधार विकास सम्बन्धि महत्वाकांक्षी कदम बीआरआईमा सहभागी भइसकेको छ । बीआरआईमा सहभागी भइरहँदा नेपाल इन्डो प्यासिफिक रणनीतिमा समेत समावेश भएको जसरी गतिविधिहरु भइरहेका छन् । इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित गतिविधिमा नेपालका अधिकारीहरुको सहभागिता हुनथालेको छ । यसैलाई लिएर सत्तारुढ नेकपाभित्र मतभेद देखिएको हो ।

अमेरिका जानुअघि नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको समर्थन गरेर अमेरिकालाई चिढ्याएका थिए । यो उनको बार्गेनिङ पावर बढाउने रणनीतिका रुपमा प्रमाणित भयो । त्यसलगत्तै उनी अमेरिका भ्रमण गरे । अमेरिका भ्रमणपछि फर्किएका उनले फेरि इन्डो प्यासिफिक रणनीतिको खुलेर विरोध गरेका छन् । चीनको महत्वाकांक्षी कदम बीआरआईसम्बन्धि कार्यक्रममा सहभागी हुँदै आएका छन् । यसलाई प्रचण्डको चीनलाई रिझाउने र अमेरिकासँग बार्गेनिङ पावर बढाउने रणनीतिका रुपमा बुझिएको छ ।

प्रचण्डको यही रणनीति नेकपाभित्र विवादको विषय बन्न थालेको छ । सरकारमा रहेको दलको अध्यक्षले इन्डो प्यासिफिकको विरोध गरिरहँदा अर्का अध्यक्ष ओली मौन छन् । प्रधानमन्त्री समेत रहेका उनी र प्रचण्डबीच यस विषयमा विवाद देखिएको छ । प्रचण्डले अमेरिकालाई चुनौती दिने गरी बोलेपछि परराष्ट्र मन्त्रालयसम्म यसबारे चासो बढ्ने गरेको छ । जसकारण प्रधानमन्त्री ओलीसमेत अप्ठ्यारोमा पर्ने गरेका छन् । नेकपाभित्र प्रचण्डले चीनसँग केही वर्षयता बढेको दूरीलाई कम गर्न चालेको रणनीति पनि हुनसक्ने देखिएको छ ।

कुनैबेला राष्ट्रपति बनेपछि सि जिङपिङलाई भेट्ने प्रथम वरिष्ठ विदेश अधिकारी बनेका थिए प्रचण्ड । तर, उनीसँग चीनको दूरी एकाएक बढेको थियो । अहिले बीआरआईको समर्थन र इन्डो प्यासिफिकको विरोध गर्दै प्रचण्डले रणनीतिक लाभ लिन खोजेका छन् । उनको यही रणनीति नेकपाभित्र विवाद बढाउने विषय बनेको छ । पूर्व एमालेका अधिकांश नेताहरु प्रचण्डको यो कदमलाई रुचाइरहेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रचण्डको विवादास्पद बोलीले असन्तुष्ट रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्