Logo

विश्व बजारमा तेलको किर्तिमानी मूल्यवृद्धि पछि नेपाली बजारमा के होला



काठमाडौं, ३० भदौ । नेपाल आयल निगमले मोतिहारी अमलेखगञ्ज तेलपाइपलाइन संचालनमा आएलगत्तै नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थमा मूल्य घटाएको एक साता नबित्दै विश्व बजारमा तेलको मूल्यमा भारी वृद्धि भएको छ । एकैरात प्रति ब्यारल १२ डलरसम्मले तेलको मूल्यवृद्धि भएपछि नेपाल आयल निगम दबाबमा परेको छ ।

पेट्रोलियम पद्धार्थमा नाफामा रहेको निगमले अबको मूल्यवृद्धिपछि यही मूल्यमा विक्रीवितरण गरे नाफा रहनेछैन । उसले सम्भवत घाटा व्यहोर्नुपर्ने हुनसक्छ । २८ वर्षयता विश्व बजारमा एकैपटक २० प्रतिशतले मूल्यवृद्धिको असर नेपाली बजारमा समेत पर्ने निश्चित छ । निगमले विश्व बजारको मूल्यलाई दृष्टिगत गरी समायोजन गर्दै आएको छ । उसले केही दिनभित्र समायोजन गर्ने सम्भावना छ । निगम स्रोतका अनुसार तेलको मूल्यमा भारी वृद्धि भएकाले समायोजन हुनसक्छ ।

किन भयो वृद्धि
पेट्रोलियम पद्धार्थको मूल्य एकैरातमा २० प्रतिशतले वृद्धि भई प्रति ब्यारल ७१ डलर सम्म पुगेको छ । यसअघि प्रति ब्यारल ६० डलरभन्दा कममा कारोबार भइरहेको तेलको मूल्य एकैरात १२ डलर वृद्धि भएको हो ।

साउदी अरबको दुईवटा तेल प्रशोधन केन्द्रमा ड्रोन हमलाले क्षति पुर्याएपछि संसारभर तेलको आपूर्तिमा कटौती हुनाले मूल्य वृद्धि भएको हो । साउदी अरब विश्वकै सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो । उसको आधा उत्पादन कटौती भएको छ । यसबाट विश्व बजारमा पाँच प्रतिशत आपूर्ति घटेको छ ।

यमनका हुथी विद्रोहीले साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणको जिम्मा लिएका छन् । तर, अमेरिकाले इरानमाथि आक्रमणको आरोप लगाएको छ । हुथीलाई इरानले सघाउ पुर्याएको बताइन्छ ।

मध्यपूर्वमा तनाव बढ्दा तेलको उत्पादन घट्न जाँदा विश्व व्यापारमा प्रभाव पर्ने भएको छ । कच्चा तेलको मूल्य वृद्धिसँगै विश्वभर तेलको खुद्रा मूल्यमा पनि वृद्धि हुने देखिदैछ । यसबाट नेपाली उपभोक्ता समेत प्रभावित हुनसक्छन् ।



प्रतिक्रिया दिनुहोस्