Logo

‘कुपात्र’ भन्दै ज्ञानेन्द्रलाई नेकपाको भातृ संगठन युवा संघले गर्यो कास्की प्रवेश निषेध (विज्ञप्तिसहित)



काठमाडौं, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संघले भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेश निषेध गरेको छ । उसले हिजो प्रेस विज्ञप्ति निकालेर शाहीलाई प्रवेश निषेधको घोषणा गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्याय प्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परवर्तन तथा उपलब्धिको पक्षमा दृढता पूर्वक उभिनु भई सहयोग गरिहिनुहुन हार्दिक अपिल गर्दछौं ।’

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटिले विज्ञप्तिमा शाहीलाई कुपात्र भन्दै गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराएको हो । विज्ञप्तिमा साविक वाइसिएल नेपाल, कास्कीका अध्यक्ष भोजराज पौडेल र साविक युवासंघ नेपाल, कास्कीका अध्यक्ष डिल्लीराम सुवेदीले हस्ताक्षर गरेका छन् । दुवै संगठनबीच एकता भई राष्ट्रिय युवा संघ नेपाल गठन भएको हो ।

 

ज्ञानेन्द्र शाहीले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमान डिले गरेको भन्दै अराजक व्यवहार देखाएपछि उनीमाथि नेकपा निकट युवाहरु आक्रोशित भएका छन् । यसैलाई मध्यनजर गरी कास्की कमिटिले प्रतिगामी तत्वहरुको विरुद्धमा आवश्यकता अनुसार प्रतिरोध कार्यक्रम सञ्चालन गर्न वाध्य हुने चेतावनी समेत दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘फेसबुक, टुईटर, युट्युवलगायतका सामाकिज सञ्जालहरुको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खेज्ने, द्धन्द्ध सिर्जना गन उक्साउनेहरु, पछिल्लो उपलब्धि र परिवर्तनको विरोधी तत्वहरुबाट प्रायोजित तथा सञ्चालित छन् । हाम्रो संगठन यस्ता प्रतिगामी तत्वहरुको विरुद्धमा आवश्यकता अनुसार प्रतिरोध कार्यक्रम सञ्चालन गर्न वाध्य हुने चेतावनी दिन चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्