Logo

नेकपा एकता प्रक्रियाको बाधक केपी ओलीको अध्यक्ष पद !



काठमाण्डौ । सत्तारुढ दल अर्थात पूर्व माओवादी र पूर्व एमाले । दुई ठूला दल मिलेर बनेको नेकपा सहज अवस्थामा छैन । शीर्ष तहबाट सुरु भएको एकता तल्लो तहसम्म पूरा हुन सकेको छैन । जसले गर्दा समस्यै समस्याको चंगुलमा छ यो दल । सरकार संचालन पनि सन्तोषजनक छैन । मंसिरमा हुने उपनिर्वाचनको तयारी पनि गर्नु नै छ ।

पार्टी एकताको डेढ वर्ष पुग्न लाग्दा पनि एकताका सबै काम सकिएको छैन । प्राविधिक हिसाबले पार्टी एकता टुङ्गिए पनि नेकपा नेता–कार्यकर्ताको मन अझै पूरै मिलेको छैन । नेकपामा गुटबन्दीको रोग पनि बल्झिँदै गएको छ ।

सरकारको कामकारवाही बारे आलोचना घट्नुको साटो, दिन दुइगुना, रात चौगुनाले बढ्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फर्केलगतै एकताको बांकी काम टुङ्ग्याउने अपेक्षा गरिएको थियो । तर एकता प्रक्रियामा खासै प्रगति भएको छैन । पछिल्लो पटक भदौ २५ गते सचिवालय बैठक बसेको थियो । तर उक्त बैठक नाम मात्रैको रह्यो ।

न स्थायी कमिटि बैठक बसेको छ, न केन्द्रिय समिति नै । नेताहरु नेतृत्वप्रति रुष्ट बन्दै गएका छन् । पार्टीभित्र आफ्ना भनाईसमेत राख्न नपाएकोमा नेता भीम रावलले आक्रोष व्यक्त गरेका छन् । एक व्यक्ति एक पद गर्ने भनि गरिएको निर्णय पालना नभएको भन्दै रावलले नेतृत्वको ध्यानाकर्षणसमेत गराए । अध्यक्ष पनि प्रधानमन्त्री पनि केपी ओली नै हुँदा पार्टीको काम प्रभावकारी बन्न नसेकेको रावलको तर्क छ ।

प्रधानमन्त्री ओली पछिल्लो समय अस्वस्थ भएर दुईपटकसम्म सिंगापुर उपचारका लागि गए । फर्किएपछि उनको सक्रियता पहिलाको भन्दा कम देखिएको छ । यहीबेला पार्टी र सरकारको नेतृत्व एकै व्यक्तिले गर्न उचित नहुने धारणाहरु आइरकेका छन् । नेता देवेन्द्र पौडेल पनि एकै व्यक्तिले पार्टी र सरकार चलाउन खोज्दा समस्या भएको बताउँछन् ।

यसअघि एकीकरण भएका पार्टीका विभिन्नसंघ संगठनहरुमा समेत नेतृत्वको विषयलाई लिएर नेताहरुले असन्तुष्ट पोख्ने काम उत्तिकै छ । अर्कोतर्फ आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको तयारीमा लाग्नुपर्ने भएका कारण पनि एकताको बांकी काम थप लम्बिने देखिएको छ ।

सरकारकै काम कारवार्ही प्रभावकारी नभएका कारण स्थानिय तहमा तथा विभिन्न संघसस्थाहरुको निर्वाचनमा समेत नेकपा पक्षधरको हार व्याहोर्नु परेको भन्दै नेकपाभित्र आन्तरिक घातप्रतिघातको बहस पनि हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्