Logo

व्यवस्थामाथि चुनौती बढेपछि अरिङ्गाल बन्ने देखि प्रतिवादको निर्देशन



समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले सत्तामा रहेर पनि विद्रोहीको शैली देखाउन छाडेका छैनन् । उनीहरुले बेला बेलामा कार्यकर्तालाई लडाकुको शैलीमा प्रस्तुत हुन निर्देशन दिदै आएका छन् ।

विगतमा केपी शर्मा ओलीले कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिएका थिए । तत्कालिन नेकपा एमालेको अध्यक्ष रहँदा ओलीले विपक्षीमाथि एकैपटक अरिंगालको शैलीमा हावी हुन भनेपछि सर्वत्र आलोचना भएको छ । अरिंगालको चर्चा सेलाउँदै गर्दा नेकपा अध्यक्ष प्रचण्डले आफूभन्दा भिन्न विचार राख्नेमाथि प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय देशमा अराजकता र अतिवादी क्रियाकलाप बढेको भन्दै कार्यकर्तालाई प्रतिवादको निर्देशन दिएका हुन् । ज्ञानेन्द्र शाहीले नेपालगञ्ज विमानस्थलबाट उड्न लागेको विमानभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि अराजक व्यवहार देखाएको चर्चा चलिरहँदा प्रचण्ड यस्तो निर्देशन दिएका हुन् । कडा शैलीमा बोल्दै प्रचण्डले देशमा प्रतिक्रियावादीहरु सक्रिय हुन लागेकाले प्रतिवाद गर्न भनेका हुन् ।

सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डको विद्रोहीको शैलीमा आएको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समयमा उनले देशमा गणतन्त्र र संघीयतामाथि प्रहार भइरहेको भन्दै त्यसप्रति सचेत हुन भन्दै आएका छन् । उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट हटाउने सम्मको चेतावनी दिएका छन् । पूर्वराजाको गतिविधिप्रति प्रचण्ड सबैभन्दा सतर्क भएका छन् । पूर्व राजाको राजसंस्था फर्काउने गतिविधिको सूचना पाएरै प्रचण्डको कडा अभिव्यक्ति आइरहेको बुझिएको छ ।

सत्तापक्षभन्दा विरोधको शैलीमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको अभिव्यक्ति आइरहेको छ । त्यसमाथि पनि प्रचण्डले विपक्षीको शैलीमा आफूलाई प्रस्तुत गरिरहेका छन् । उनको घरेलु र बाह्य राजनीतिसँग जोडिएर आउने अभिव्यक्ति विद्रोहीको जस्तै हुनथालेको छ ।

गणतन्त्र, धर्मनीरपेक्ष र संघीयतामाथि एकसाथ चुनौती बढेपछि नेकपाका नेताहरु शतर्क मात्र नभई आक्रोशित हुन थालेका छन् । उनीहरुले अहिले भएका चर्चित घटनाक्रमका पछाडि व्यवस्था उल्टाउन खोज्नेको भूमिका देखिरहेका छन् । त्यसैले कार्यकर्तालाई अरिंगाल बन्ने देखि प्रतिवाद गर्न सम्मको निर्देशन दिएको हुनसक्छन् ।



प्रतिक्रिया दिनुहोस्