Logo

खाडीमा युद्धको कालो बादल



खाडीका शक्तिशाली देशहरु साउदी अरेबिया र इरानबीच तनाव बढेको छ । साउदी अरेबियाको दुईवटा तेल प्रशोधन केन्द्रमा भएको हमलामा इरानमाथि औंला ठड्याइएपछि तनाव बढेको हो ।

साउदीको नजिकको मित्र अमेरिकाले इरानको संलग्नताबारे प्रमाण रहेको बताइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरानको संलग्नता हुनसक्ने तर अहिलेनै यकिनका साथ भन्दा हतार हुने बताइसकेका छन् । इरानले आरोपको खण्डन गरिसकेको छ ।
साउदी अरब घटनामा को संलग्न थियो भन्नेबारे बोलेको छैन । उसको मौनताका पछाडि नयाँ खतरा देखिदैछ । यदि इरानले साउदीमाथि साँच्चै आक्रमण गरेको पुष्टि भएमा उसमाथि अमेरिकासहितको पश्चिमा देशहरुको सैन्य आक्रमण हुनसक्छ । त्यसले मध्यपूर्वमा नयाँ विनाश निम्तनसक्छ । इरानसँग आणविक हतियार रहेको आशंका छ । यदि यो सत्य हो भने मध्यपूर्वमा आणविक हतियारको प्रयोग हुने खतरा रहन्छ ।

आफ्नो महत्वपूर्ण तेल प्रशोधन केन्द्रमाथि आक्रमण हुँदा साउदीको आधा तेल उत्पादन घटेको छ । यसबाट उसले दैनिक करोडौं डलर गुमाएको छ । यसबाट साउदी अरब चिढिएको छ । यसै पनि इरान र साउदीबीच तनाव छ । खाडीका शक्तिशाली देशहरुको भिडन्तले त्यस क्षेत्रमै समस्या ल्याउनसक्छ । सम्भावित भयावह परिस्थिति रोक्न अन्तर्राष्ट्रिय प्रयास हुनसक्छ । तर, त्यसलाइै काबुमा राख्न सहज छैन ।

यसैपनि इरानमाथि खाडीको समुन्द्रमा मालवाहक जहाजलाई अवरोध गरेको र नियन्त्रणमा लिएको आरोप लाग्दै आएको छ । यसले पश्चिमा देशहरुसँग उसको तनाव बढेको छ । इरान र पश्चिमा देशहरुको तनावबीच साउदीमा भएको आक्रमणले घीउ थपेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि पटक पटक आक्रमणको चेतावनी दिदै आएका छन् । अमेरिका सधै युद्धका लागि तयार रहने गरेको उनको अभिव्यक्तिले युद्धको कालो बादलको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्