Logo

डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा



धनगढी, ३१ भदौ । डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन् । नजिक र छोटो दूरीबाट विभिन्न उमेर समूहका डल्फिन सहजरूपमा देख्न सकिने भएपछि कैलालीका ती नदीका दोभान क्षेत्र सोध, खोज र अनुसन्धानकर्ताका लागि पहिलो रोजाइमा पर्ने गरेका हुन् ।

जिल्लाका काँडा, कान्द्रा, पथरैया र मोहना नदीका दोभान क्षेत्र डल्फिन चरन क्षेत्रको रुपमा रहेका छन् । नेपालसहित विभिन्न देशका प्राणीशास्त्रमा अध्ययन गर्दै गरेका विद्यार्थीले यस क्षेत्रमा आएर डल्फिनको विषयमा सोध, खोज, अनुसन्धान गरी शोधपत्र लेखेको पाइएको डल्फिन संरक्षण केन्द्र कैलालीका विजयराज श्रेष्ठले बताए । “यो क्षेत्र डल्फिनको प्राकृतिक बासस्थान पनि हो”, श्रेष्ठले भने, “पानीको सतह बढेको वर्षायाममा भारतको घाँघरा नदी हुँदै कैलालीका यी नदीमा डल्फिन बच्चा जन्माउन आउने र पानीको सतह घटेपछि पुनः घाँघरा नदीमै फर्किने गरेका प्रमाणित भइसकेको छ ।”

उक्त क्षेत्रलाई डल्फिन अवलोकनको प्रमुख पर्यटन गन्तव्यका रुपमा चिनाउने प्रयास स्वरुप विसं २०६२ देखि विभिन्न सङ्घसंस्था र डल्फिन संरक्षण केन्द्रको संयुक्त प्रयासमा डल्फिन महोत्सवको आयोजना हुँदै आएको छ । डल्फिन अवलोकनका लागि यसअघि नै कतिपय ठाउँमा दृश्यावलोकन स्तम्भ निर्माण भइसकेकामा हाल अर्को स्तम्भ निर्माणधीन छ । डल्फिन संरक्षण केन्द्र र अन्तरगतका इ–को क्लबका साथै विभिन्न विद्यालयमार्फत बेलाबखत चेतनामूलक विभिन्न गतिविधिसमेत गर्ने गरिएको छ ।

डल्फिन संरक्षण, संवद्र्धन र प्रचार–प्रसारसम्बन्धी गतिविधिको फलस्वरुप अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटक पनि वर्षेनी बढ्दै गएका पाइएको संरक्षणप्रेमी भोजराज ढुङ्गाना बताउँछन् । “हालै स्पेन, थाइल्याण्ड, अस्ट्रेलिया, बेलायत, स्कटल्याण्डका गरी १६ विदेशीले यो क्षेत्रको भ्रमण गरेर फर्किएका छन्”, उनले भने, “यसबाहेक भारत र नेपालका समेत गरी झण्डै एक हजार ५०० पर्यटक घुमेर फर्किएका छन् ।‘‘

राज्यका तर्फबाट सो क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्दै पर्यापर्यटनको विकासका लागि पहल हुनुपर्नेमा स्थानीय बासिन्दाको जोड छ । संरक्षण, संवद्र्धन र प्रचारप्रसारका लागि भइरहेका गतिविधिसँगै यो क्षेत्रलाई ‘टीकापुर सर्किट डल्फिन संरक्षण क्षेत्र’का रुपमा नेपाल सरकारको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको छ । सन् २०२० लाई सरकारले नेपालमा भ्रमण वर्ष मनाउने घोषणा गरेको अवस्थामा कैलालीमा आयोजना हुने गरेको डल्फिन महोत्सवले नेपाल भ्रमण वर्षको लक्ष्यलाई पूरा गर्न मद्दत पु¥याउने स्थानीय कृष्ण धमला बताउँछन् ।

स्थानीय युवाहरु घुम्न आउने पर्यटकहरुलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रतर्फ लैजाने, डल्फिनले गर्ने गतिविधि, संरक्षणका लागि भइरहेका कामका बारेमा सक्रिय हुने गर्दछन् । कैलालीको टीकापुर बजारको बाटो र भजनीको बाटो हुँदै डल्फिन चरन क्षेत्रमा पुग्न सकिन्छ । यी नदीहरुमा झण्डै १३० सङ्ख्यामा डल्फिन रहेको दाबी स्थानीय संरक्षणकर्मीको छ ।

यसैबीच होटल व्यवसायी सङ्घ टीकापुर र डल्फिन संरक्षण केन्द्रको संयुक्त पहलमा सो क्षेत्रमा चौथो चरणको डल्फिन महोत्सव गरिएको छ । महोत्सवको पूर्वतयारीस्वरुप अवलोकनका लागि आउने पर्यटकका लागि सो क्षेत्रमा केही दिनअघिदेखि नै डल्फिन घरवाससमेत सञ्चालन गरिएको छ ।

‘‘घुम्न आउने पाहुनको स्वागत र बसाइँ सहज बनाउन छ घरमा घरवास सञ्चालन गरिएको छ”, डल्फिन संरक्षण केन्द्रका उपाध्यक्षसमेत रहनुभएका ढुङ्गानाले भने । महोत्सवका क्रममा नदीमा जलयात्रा (¥याफ्टिङ) गरेर डल्फिन अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । शनिबारदेखि शुरु भएको महोत्सवमा देउडा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकार र बेतबाँसका सामग्रीको प्रदर्शनीलगायतका गतिवविधि भइरहेका छन् ।
-रासस



प्रतिक्रिया दिनुहोस्