Logo

४१७ मेगावाटको नलगाड जलविद्युत आयोजनाका लागि हजारौं रोपनी जग्गा अधिग्रहण गरिदै



काठमाडौं, ३१ भदौ । ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाका लागि सरकारले हजारौं रोपनी जग्गा अधिग्रहण गर्न लागेको छ । जिल्ला प्रशासन कार्यालय, जाजरकोटले आज सूचना प्रकाशित गरी अधिग्रहण गर्न लागेका ३८६१ जग्गाधनीलाई सम्पर्क गर्न भनेको छ ।
जाजरकोट जिल्लामा पर्ने जलाशययुक्त नलगाड जलविद्युत आयोजनाबाट चार हजारभन्दा बढी घर परिवार प्रभावित हुने भएका छन् ।

उनीहरुको नाम र जग्गाको क्षेत्रफलसमेत संकलन गरी सूचना प्रकाशित गरिएको हो । बोरेकोट गाउँपालिका अन्र्तगतको आठ वटा वडाका बासिन्दा छन् । यसैगरी, रोकायागाउँका दुईवटा वडा, रामीडाँडाका चारवटा वडाका बासिन्दा प्रभावित हुने भएका छन् ।

प्रभावित बासिन्दाको जग्गाको मुआब्जा दिने गरी अधिग्रहण गर्न लागिएको उल्लेख छ । जिप्रका जाजरकोटले जग्गा प्राप्ती ऐन, २०३४ को दफा ९ १ अनुसार अधिग्रहण गर्न सूचना प्रकाशित गरिएको जनाएको छ । जग्गा प्राप्ती ऐन अनुसार उद्योग, धन्दा, कलकारखाना खोल्न सरकारले मुआब्जा लिई अधिग्रहण गर्न सक्ने व्यवस्था छ ।

नगलाड जलाशययुक्त आयोजनाको जलाशय प्रभावित क्षेत्रको समुन्द्री सतहबाट १५९० मीटर तलका जग्गाहरु डुबानमा पर्ने भएकाले अधिग्रहण गर्न लागिएको हो ।

भेरी नदीको सहायक नदी नल्स्यागु नदीको पानी जम्मा गरी जलाशय बनाई विद्युत उत्पादन गर्ने योजनासहित निर्माण अगाडि बढाउन लागिएको हो । जग्गा अधिग्रहण शुरु भएपछि आयोजना निर्माण हुनेतर्फ बढेको छ ।

आयोजनाले उल्लेख गरेअनुसार जलाशय क्षेत्र ५७१ वर्गा किलोमिटरको हुनेछ । जलाशयको ड्याम दुई सय मिटर अग्लो हुनेछ ।
११२ किलोटिरको ट्रान्सिमिसन लाइन निर्माण गरी उत्पादित जलविद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिने लक्ष्य लिइएको छ । सन् २०१२ मा आयोजनाको लागत ७३ करोड ७३ लाख ९० हजार अमेरिकी डलर तोकिएकोमा सात वर्ष बितिसकेकाले दोब्बर लागत बढ्ने देखिन्छ ।

तस्बिर स्रोतः नलगाडे जलविद्युत आयोजना



प्रतिक्रिया दिनुहोस्