Logo

कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सव : कोषमा ३ खर्ब बढि जम्मा (फोटोफिचर)



काठमाडौं, ३१ भदौ । कर्मचारी सञ्चय कोषको रकम ३ खर्ब ९ अर्ब ८५ करोड पुगेको छ । कर्मचारी सञ्चय कोषले आफ्नो स्थापनाको ५८औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाण्डौमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो । त्यसमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए। कोषले गएको साउन महिनासम्ममा ३१ अर्ब ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ ।

कोषले जगेडा रकमलाई देशको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी पनि गरेको छ । प्रशासक गौतमले देशलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताए । त्यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ ।

कर्मचारी सञ्चय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख सञ्चयकर्ताहरु रहेका छन । उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य बीमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिए ।

त्यसैगरी कोषले सञ्चयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्