Logo

प्रचण्डलाई एकल अध्यक्ष बनाउन माधव-वामदेव सहमत, भीम रावलको पनि समर्थन



काठमाडौं, ३१ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ‘एक व्यक्ति, एक जिम्मेवारी’ मा जानुपर्नेबारे बहस सुरु भएको छ । पार्टी एकतापछि नै सचिवालय बैठकले सरकारको नेतृत्व गर्नेले सरकारको मात्रै काम गर्ने र पार्टीको नेतृत्व गर्नेले पार्टीको मात्रै काम गर्नेबारे निर्णय गरेको थियो । पछिल्लो समय यो विषय निकै आक्रामक रुपमा उठेको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यो विषयमा गम्भिर छलफल भैरहेको छ । प्रचण्ड जुनसुकै हालतमा पनि एकल अध्यक्ष आफूले पाउनुपर्छ भनेर लागिपरिरहेका छन् । त्यही भएर उनले प्रधानमन्त्री ओलीले नै अर्को निर्वाचन नभएसम्म सरकारको नेतृत्व गर्ने र आफूले पूर्ण रुपमा सघाउने भनेर सार्वजनिक रुपमै बोलिसकेका छन् ।

आजमात्रै पनि प्रचण्डले आफ्नै निवासमा बरिष्ठ नेता माधव कुमार नेपाल र सचिवालय सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । उनले नेता नेपाल र गौतमसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले नेताद्धयसँग एकल अधिकार आफूले लिनेबारे सहमति लिएका थिए । उनको प्रस्तावमा दुवै नेता सहमत भएको बुझिएको छ ।

नेता नेपालले त अध्यक्ष प्रचण्डलाई एकल अध्यक्ष बनाउनको लागि आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए । अर्का नेता गौतमले पनि ‘वान म्यान, वान पोष्ट’ को पक्षमा आफूपनि रहेको सुनाएका थिए । तर, उनले यस विषयमा अर्का अध्यक्ष ओलीसँग सहमति गर्नुपर्छ ।

उता, स्थायी समिति सदस्य भीम रावलले पनि यो विषयलाई जोडदार रुपमा उठाएका छन् । हिजो (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रावलले पार्टीभित्र एक व्यक्ति, एक जिम्मेवारीमा जानेबारे केन्द्रिय सचिवालयले पहिल्यै नै निर्देशन दिईसकेको सुनाएका थिए । उनलेपनि सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

साक्षात्कारमा रावलले भनेका थिए,‘जहाँसम्म जिम्मेवारीको कुरा छ, योभन्दा अगाडि हाम्रो पार्टीमा एक पद, एक जिम्मेवारीमा जाने भनेर केन्द्रिय सचिवालयले नै निर्देशन गरेको छ । हामीले भनेको होईन् । यसको उद्देश्य के थियो भने सरकारको काम हेर्नेले सरकारको काम हेर्नुपर्छ । र, पार्टीको काम हेर्नेले पार्टीको काम गर्ने हो । दुवै तर्फको काम प्रभावकारी रुपमा होस भन्ने सकारात्मक र राम्रो चाहनाबाट नै यो कुरा भएको हो । अहिलेपनि यो काम हुन सक्यो भने दुवै काम प्रभावकारी रुपमा अघि बढ्छ । यसले पार्टी र देशको हितमा हुन्छ । यसकारण हामीले कार्य्विभाजन गर्दा यतातिर ध्यान दिउँ भनेको हो ।’



प्रतिक्रिया दिनुहोस्